अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी

224

फागुन २८,
बेइजिङ -संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थ मन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ट आर्थिक अधिकारी लिऊ हे सँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो । उहाँहरुबीच व्यापारसम्बन्धी मुलभूत विषयहरुमा छलफल भएको चिनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन र संयुक्तराज्य अमेरिकाबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाब जारी छ । दुबै मुलुकले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको उक्त तनाबले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ । दुबै देशका वरिष्ट अधिकारीहरु व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् । दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुङ्गो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनीया राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ ।

तर ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताउनुभयो । “मितिको कुनै टुङ्गो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,” सराहले ह्वाइट हाउसमा भन्नुभयो । “वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ ।” सराहले दुबै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले संयुक्तराज्य अमेरिकालाई हानि हुने कुनै पनि किसिमको सम्झौता राष्ट्रपति ट्रम्पलाई स्वीकार्य नहुने पनि स्पष्ट गर्नुभयो ।-रासस/एएफपी