किन हुन्छ माइग्रेन ?

117

फागुन २८,
काठमाडौं -माइग्रेन एक टाउको दुख्ने समस्या हो । माइग्रेनबाट विश्वभर अधिकांश मानिस पीडित छन् । त्यसैले, यसलाई साझा रोगका रूपमा लिइन्छ । जुनसुकै उमेरमा माइग्रेन हुन सक्छ । पुरुषको तुलनामा महिला माइग्रेनबाट बढी पीडित भएको पाइन्छ । सामान्यतया महिलामा भइरहने हर्मोनल परिवर्तनका कारण यस्तो भएको अनुमान गरिन्छ ।

कारण
-माइग्रेन हुनुको खास कारण छैन । यद्यपि, कसैमा अत्यधिक तनावका कारण माइग्रेन हुन सक्छ । जो समय–समयमा दोहोरिरहन्छ ।

-विभिन्न बाह्य कारणले माइग्रेन बल्झिने गर्छ । घाममा धेरै समय बिताएमा कसै–कसैमा माइग्रेन
भएको पाइन्छ ।
-कतिपयमा विनाकारण पनि माइग्रेन हुनेगर्छ । शरीरभित्रको मेकानिजमका कारण अधिकांशमा टाउको दुख्ने समस्या हुन सक्छ ।
-लामो समयसम्म भोकै बस्ने, राति काम गर्ने, तनावयुक्त काम गर्ने मानिसमा माइग्रेनको समस्या बढी भएको पाइन्छ ।

लक्षण
-माइग्रेन लामो समयसम्म रहिरहने रोग हो । यसका लक्षण व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् । प्रायः टाउको एकातिर मात्रै बेसरी दुखिरहन्छ । त्यस्तै, कतिपयमा दुवैतिर पनि दुख्ने हुन्छ ।
– वाक्वाकी लाग्ने, बान्ता हुने, घाममा धेरैबेर हिँड्न नसक्ने, हातखुट्टा दुख्ने आदि माइग्रेनका लक्षण हुन् ।
-कतिपयमा निन्द्रा नलाग्ने, थकान महसुस हुने, चिड्चिडापन हुन्छ । त्यस्तै, कसैलाई लामो समयसम्म मन्द तरिकाले टाउको दुखिरहन्छ ।
-मस्तिष्कको रक्तसञ्चारमा एक्कासि परिवर्तनका कारण अत्यधिक टाउको दुख्छ । तर, सिटी स्क्यान वा एमआरआई गरेर चेकजाँच गर्दा त्यहाँ कुनै असर देखिएको हुँदैन ।

रोकथाम र उपचार
-माइग्रेनको उपचार गर्न खास उपचार पद्धति छैन । त्यसैले, माइग्रेन बल्झिएमा चिकित्सकको निगरानीमा रहेर दुखाइ कम गर्ने कडाखालको औषधि प्रयोग
गर्न सकिन्छ ।
– यसबाहेक, शान्त ठाउँमा बस्ने, एक्सरसाइज गर्ने, जोखिमयुक्त अर्थात् दिमागमा असर पर्नेखालका काम नगर्ने गर्नाले माइग्रेन बल्झिनबाट बच्न
सकिन्छ ।
-कतिपयमा आँखामा समस्या, पिनास आदि कारणले पनि माइग्रेन हुने भएकाले यस्ता समस्याबाट बच्नुपर्छ ।

प्राडा सरोजप्रसाद ओझा, मनोचिकित्सक त्रिवि शिक्षण अस्पताल