जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

73

सुरेश तामाङ ( नेपाल समाचार)
जेठ ७, काठमाडौं । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।

ललितपुर महानगरपालिका–२२ फर्सिडोल–बुंगमती भई गुड्ने सवारीसाधनमा स्थानीय उमेश महर्जन र वीरेन्द्र महर्जनले वडा अध्यक्षकै संरक्षणमा एकलौटी ढंगले रकम असुल गरिरहेको ट्रिपर चालकहरुले बताएका छन् । सडक सुधार गर्ने बहानामा बुंगमती–फर्सिडोल सडक सरोकार समिति बनाई ठूलो ट्रिपर, सानो ट्रिपर र मिनी टाटा लाई आठ/आठ सय रुपियाँ रकम उठाइरहेको छ । समिति बनाएर सडक सुधारका लागि बुंगमतीमा रकम उठाइएको विषयमा आफू जानकार रहेको वडा अध्यक्ष शाक्यले बताउनुभयो । ‘नगरको बजेट कम छ । ठूला सवारी गुडेपछि सडक छिनछिनमा मर्मत गरिरहनुपर्छ । त्यसका लागि व्यवसायी आफैँले पनि पहल गरी समिति बनाएर बाटो मर्मतकै लागि यस्तो गरिएको हो’, –उहाँले भन्नुभयो ।