त्रिविको चरम लापर्बाही, उत्तीर्णको मार्कसिटमा पटक–पटक ‘तारा’

56

जेठ ५,
काठमाडौँ ।मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् ।

मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् । ६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ । देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ । पनिकाका समस्या एक÷दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ । पनिकामा सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता कायमै छ । पनिकाको सेवा प्रवाहमा आउने अर्को समस्या हो, अतिशय लापरबाही । पनिकाले तयार गर्ने मार्कसिटमा कसैको नाम गलत टाइप भएको हुन्छ, कसैको रजिस्ट्रेसन नम्बर छुटेको हुन्छ त कसैको प्राप्तांकमै त्रुटि भेटिन्छ । त्यस्ता त्रुटि सच्याउन लाइन बस्नेहरू बग्रेल्ती भेटिन्छन् । पीडित विद्यार्थीका अनुसार आफैंले गरेको त्रुटि सच्याउन पनिकाले थप दस्तुर लिन्छ र थप समय खर्च गरिदिन्छ । आपूmले गरेको त्रुटिमा सामान्य माफी पनि नमाग्ने र थप दुःख दिने यस्तो सेवाप्रवाह प्रणाली सम्भवतः विश्वमै यही मात्रै भएको सरोकारवालाको दाबी छ ।

ट्रान्सक्रिप्ट निकाल्दा केही विद्यार्थीहरूको नाम र थर नै बिग्रिएर आउने गरेको छ भने केहीको उत्तीर्णाङ्क नै तल माथि परेर आउने गरेको छ । कतिपय विद्यार्थीको नाम, ठेगाना नै फरक पर्ने गरेको छ । उत्तीर्ण विद्यार्थीहरूको पनि नतिजा अनुत्तीर्ण भएर आउने गरेको छ । जसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् । पनिकाको गैरजिम्मेवारीपन र बेवास्ताका कारण ट्रान्सक्रिप्ट निकाल्न विद्यार्थीहरूले १५ दिनदेखि एक महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

सास्ती नै सास्ती

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेस्टर २०७५ मा उत्तीर्ण गरे । तर, उनको नतिजामा दुईवटा तारा लागेर आयो । २०७४ साउनमा नियमितअन्तर्गत दोस्रो सेमेस्टर दिएका शर्मा तीनवटा विषयमा पहिलोपटक अनुत्तीर्ण भए । शर्माले भने,‘ दोस्रोपटक परीक्षा दिँदा उत्तीर्ण भएको हँु । तर, तीनवटै विषयमा दुई÷दुईवटा तारा लागेर आएको छ । म एकदम चिन्तित छु ।’

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।