राउतका समर्थकलाई प्रदेश सरकारको चेतावनी– ‘फेरि यस्तो हर्कत दोहोर्‌याए सहन्नौ’

216

फागुन २७,
जनकपुर -विखन्डनको राजनीति परित्याग गरेका सीके राउत समर्थकले आइतबार जनकपुरमा देखाएको ‘हर्कत’लाई प्रदेश २ सरकारले गम्भीरतापूर्वक लिएको जनाएकाे छ । उनीहरुका गतिविधिलाई गैरकानुनी भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले फेरि त्यस्तो हर्कत दाेहाेर्‌याए सह्य नहुने चेतावनी दिए । ‘राउतका समर्थकले जनकपुरमा गरेका गतिबिधि गलत हुन,’ मन्त्री यादवले सोमबार कान्तिपुरसँग भने, ‘सहमतिको दुबै पक्षले अक्षरशः पालना गर्नुपर्छ। सहमति तोडेर प्रदर्शनमा उत्रिनु गलत हो।’

राउतको मूलधारको राजनीतिमा प्रवेश संघीयता संस्थागतका लागि सराहनीय कदम रहेको भन्दै मन्त्री यादवले जनकपुरमा राउतको स्वागतमा गरिएको प्रदर्शन, लगाइएका नारा र बोकिएका झन्डा गैरकानुनी रहेको बताए।

‘सहमति भंग नहोस् भनेर हामीले पहिलो पटक छुट दिएका हौं,’ मन्त्री यादवले भने, ‘अब त्यस्तो भूल गरे प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुनेछ।’ उनले दण्डहीनता रोक्न प्रदेश सरकार अग्रसर रहेको समेत बताए।

‘सुरक्षाकर्मीकोजस्तो पोशाक लगाउने, आफ्नै सुरक्षा दस्ता बनाउने यो काम मान्य हुन्न,’ मन्त्री यादवले भने, ‘सुरक्षा थ्रेट छ भने प्रदेश सरकार त्यसको व्यवस्थापन गर्न तयार छ। तर आफूखुशी समानान्तर सरकार चलाउन खोजे सह्य हुन्न।’

मुखमा मास्क, टाउँको छोपिने गरी झन्डा बेरेका र छातीमा सुरक्षाकर्मीकै जस्तो बुलेट प्रुफ देखिने ज्याकेट लगाएका राउतका समर्थक आइतबार जनकपुर विमानस्थलमा खटिएका थिए। विमानस्थलको बाहिरी परिसरमा एकदर्जनको संख्यामा खटिएका उनीहरुको हाउभाउ सुरक्षाकर्मीकोजस्तै थियो। आइतबार अपरान्ह बुद्ध एयरको जहाजबाट ओर्लिएका राउतलाई ती दस्ताले स्यालुट ठोके र घेराभित्र राखेर गाडिसम्म पुर्‍याएका थिए।

राउतका समर्थकले आइतबार जनकपुरमा ‘फ्रि मधेस’ लेखिएका झन्डा र ‘स्वतन्त्र मधेस’ जिन्दावादको नारा लगाएका थिए।

राउत घरमै
आइतबार अपरान्ह जनकपुर आएका राउत साँझदेखि नै जनकपुर-८ स्थित बलवाटोलमा रहेको डेराकै घरमा बसेका छन्। सोमबार बिहान उनको घर अगाडि चहलपहल देखिए पनि दिउँसोबाट भीड पातलिएको छ।

घरमै बसिरहेका राउतले निकटका समर्थकसँग सरकारसित गरिएको सम्झौताका बारेमा कुराकानी गरेको स्रोतको भनाइ छ।

राउतका निकट सहयोगी चन्दन सिंहले लामो समय जेलमा रहेकाले राउत जनकपुर आएदेखि आरम गरिरहेको बताए। ‘उहाँ लामो समय जेलमा बस्नु भयो। त्यसपछि अचानक सरकारसँग सम्झौता भयो,’ सिंहले फोनमा भने, ‘जनकपुर बसाइ आराममै बितिरहेको छ। केही पुराना काममा पनि उहाँ व्यस्त छन्।’

आइतबार काठमाडौंमा स्वास्थ्य जाँच गराएपछि जनकपुर फर्किएका राउतसँग उनका सहयोगी सिंह पनि बसेका छन्। ‘दुई दिनसम्म भेटघाट र बाहिरी कार्यक्रममा ननिस्कने भनिएको छ,’ सिंहले भने, ‘एयरपोर्टमा मिडियासँग नबोल्नुको कारण पनि त्यही हो।’ kantipur