‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक,

275

बैशाख ९,
सुर्खेत । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

“पर्यटन आगमन सर्वेक्षण २०७५ अनुसार आन्तरिक पर्यटक चालू आवमा करीब ११ प्रतिशत वृद्धि भएको छ”, मन्त्री बुढाले भने, “यो आवको वैशाखसम्म बाह्य पर्यटकको सङ्ख्या ३४।२ प्रतिशत वृद्धि भएको पाइएको छ ।” ‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ मूल नारा बनाएर अघि बढेको प्रदेश सरकारले विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने आधार स्थापित गरेको उनको भनाइ थियो ।

पर्यटन मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभागको तथ्याङ्कअनुसार सबैभन्दा हुम्लामा १७ हजार ४८९ बाह्य र त्यसमा भारतीय पर्यटक भित्रिएको बताए । सबैभन्दा कम सातजना बाह्य पर्यटक जाजरकोटमा आएको सचिव प्रधानले बताए । प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा रु ७८ लाख १६ हजार ९६ खर्च भएको उल्लेख गरिएको छ । सरकारले नीतिगत रुपमा मन्त्रिपरिषद्बाट गरेको निर्णयका आधारमा ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा बजेट खर्च भएको पर्यटन मन्त्रालयले दाबी गरेको छ ।-रासस