विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको मापदन्ड तयार

140

जेठ १,
काठमाडौं । विश्वविद्यालय र उच्चशिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदन्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले मापदन्डको आधार तयार गरी सरकारलाई प्रतिवेदन बुझाएको छ। गत मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको प्रतिवेदनमा मापदन्डका लागि तीन वटा बुँदा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपतिमा उपराष्ट्रपतिलाई प्रस्ताव गर्न उपयुक्त हुने सुझाव दिइएको छ । कार्यदलले उपकुलपति पदमा नियुक्तिको लागि एक कार्य अवधिको कार्ययोजना विद्युतीय सञ्चार माध्यमबाट पेस गर्न माग गर्नुपर्ने, पेस भएका कार्ययोजनाहरूको मूल्यांकन गरी उत्कृष्टताको आधारमा तीन जनाको नाम सहकुलपतिमार्फत कुलपतिसमक्ष पेस गर्नुपर्ने मापदन्ड बनाएको छ।

यसरी नियुक्त भएका उपकुलपतिको कार्ययोजना सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानको वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था गर्न उपयुक्त हुने कार्यदलको भनाइ छ। उपकुलपतिमा नियुक्त हुने व्यक्तिले पेस गरेको कार्ययोजना सार्वजनिक गर्दा निजलाई विश्वविद्यालय वा प्रतिष्ठानप्रति जिम्मेवारी बन्न प्रेरित गर्नुका साथै पारदर्शितासमेत कायम हुनपुग्ने पनि कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

कार्यदलले विभिन्न सात वटा आधार बनाएर अंक प्रदान गर्न सिफारिस गरेको छ। प्रथम चरणको छनोट सूचीमा सूचीकृत हुन न्यूनतम ७०५ प्राप्ताङ्क ल्याएका उम्मेदवारमध्ये बढीमा ७ जनाको नाम सार्वजनिक रूपमा प्रकाशित गर्नु पर्ने मापदन्ड पनि कार्यदलले बनाएको छ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्साल संयोजक रहेको सो कार्यदलमा डा दीपेन्द्ररमण सिंह, इन्द्रप्रसाद अर्याल, शंकरबहादुर केसी, डा मधुर बस्नेत, डुलराज चिमरिया सदस्य र विष्णुप्रसाद मिश्र सदस्यसचिव रहेका छन्।swasthyakhabar.com