हाफिजलाई प्रतिबन्ध लगाउने प्रस्ताव चीनद्धारा अस्वीकृत भएपछि भारत निराश

78

फागुन ३०,
नयाँदिल्ली -भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ ।

यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो । यो घटना काश्मिरी व्यक्तिले गरेको बताइए पनि पाकिस्तानमा आश्रय लिएको जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो । उक्त घटनालगत्तै दुबै मुलुकबीच एकअर्का विरुद्ध हवाई आक्रमण र लाइन अफ कन्ट्रोल वारपार गोलाबारी भएको थियो । काश्मिरको विवादलाई लिएर विगतमा दुई पटक भिषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा बढेको थियो ।

चीनले बुधबार बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकाले मसूद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्तावलाई स्थगन गरिदिएको थियो । मसूदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने उक्त प्रस्तावमा उल्लेख थियो । पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहर माथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न समय आवश्यक रहेको जनाएको थियो । चीनको उक्त अनुरोधसँगै प्रस्ताव करिब ९ महिना पछि धकेलिएको छ ।

चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको कदमबाट भारत निराश भएको जनाएको छ । मन्त्रालयले भारतीय नागरिकमाथि नृशंश आक्रमणमा संलग्न आतङ्कवादी नेताहरुलाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपायहरु खुलै राख्ने पनि स्पष्ट गरेको छ । चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीनवटा प्रयत्नलाई अबरुद्ध गरिसकेको छ । जैस–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतङ्कवादी सूचीमा राखिएको छ । चीनको उक्त निर्णयप्रति भारतीय अखबार एवं अरु संचार माध्यमले तिखो व्यङ्ग्य गरेका छन् । रासस