९ महिनामा व्यापारघाटा १०६१ अर्ब पुग्यो

92

नेपाल समाचारपत्र,
जेठ ६, काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १६ दशमलव ९ प्रतिशतले वृद्धि भई ६९ अर्ब ८२ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ २८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फ ३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २५ दशमलव ७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिस्टर ¥यान, जस्तापाता, जुटका सामान, जडीबुटी, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जुत्ता तथा चप्पल, छाला, तयारी पोशाक, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा कुल वस्तु आयात २१ दशमलव ३ प्रतिशतले बढेर १०६१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलव ५ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९ दशमलव २ प्रतिशत, चीनबाट भएको आयात ३५ दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, विद्युतीय सामग्रीलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका ठूला भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।
आयाततर्फ भने सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा कुल वस्तु व्यापारघाटा २१ दशमलव ६ प्रतिशतले विस्तार भई ९९१ अर्ब ८१ करोड पुगेको छ ।