अब गान्धीको शालिक पनि लोडफोड् !

336

नयाँ दिल्ली । पछिल्लो केही दिनदेखि भारतीय राजनैतिक व्यक्तित्वका शालिकहरु ‘शालिक युद्ध’को चपेटामा पर्न थालेका छन् । यो शृङ्खलाको पछिल्लो शिकार माहात्मा गान्धीको शालिक भएको छ । भारतको राष्ट्रपिता’ पनि भनिने गान्धीको शालिक दक्षिणी राज्य केरलामा आक्रमणमा परेको हो । केही युवाहरुले शालिकमाथि ढुङ्गा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् ।
यी आक्रमणको शुरुवात यो हप्ता उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि लेनिनको शालिक ढालेर शालिकको टाउको फुटबल खेलेको खबर आएपछि भएको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो । त्यसपछि भाजपाका प्रतिद्वन्द्वीहरुले अरु शालिकहरुमाथि आक्रमण गर्न थाले । यसमा हिन्दु राष्ट्रवादी श्यामा प्रसाद मुखर्जी, दलित नेता अम्बेडकरको शालिकहरु आक्रमणको शिकार भए । यसपछि भारतभरबाट थप शालिक हमलाहरुको खबरहरु आउन थाले । गान्धीको शालिकमाथि आक्रमणमा भने राजनैतिक दलहरु एक अर्कोलाई आरोप लगाइरहेका छन् ।
विगतमा यस्ता विवादलाई वेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शालिक माथिको हमला तत्काल रोक्न निर्देशन दिएका छन् । पत्रिकाहरुले भाजपाका राष्ट्रिय अध्यक्ष तथा मोदीका दाहिने हात मानिने अमित शाहले आफ्नो पार्टीको स्थानीय नेताहरुलाई पार्टीका उग्रकार्यकर्तामाथि निगरानी राख्न माग गरेको रिपोर्ट दिएका छन् । विपक्षी पार्टीहरुले स्थानीय भाजपाका कार्यकर्ताहरुले ‘शालिक युद्ध’ शुरु गरेको आरोप लगाउँछन् । मोदीको अपार लोकप्रियता र भाजपाको सफल चुनाव रणनीतिले गर्दा भाजपाले हाल भारतका २९ राज्य मध्य २१ मा सरकार बनाउन सफल भएको छ । सन् २०१४ मा केन्द्रिय सत्तामा आउनु अघि उसको सात राज्यमा मात्र सरकार थियो । एजेन्सी