अमेरिकाको लोभ देखाएर लेबनान

नेपाली युवतीलाई चरम यातनास

276

कान्तिपुर दैनिक /चन्द्रशेखर अधिकारी
फाल्गुन २९,
काठमाडौँ — आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।
लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रूपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन । अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिँदैन, लामो कागजी झन्झट पूरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । ‘नेपाली महिलाका लागि लेबनान न काम गर्न सहज छ न फर्किन नै,’ दूतावासका एक अधिकारीले भने ।
‘लेबनान, युद्धग्रस्त सिरियासहित अन्य अफ्रिकी मुलुकमा पछिल्लो समय नेपाली महिला घरेलु कामदार अलपत्र पर्ने क्रम बढेको छ,’ इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले भने, ‘हामी लगातार उद्धारमा लागिरहेका छौं । यता पठाउनेहरूलाई पत्ता लगाएर कारबाही नगरेसम्म त्यो शृंखला रोकिँदैन ।’
दूतावासले फिर्ता पठाएका पीडितको बयान र उजुरीका आधारमा मानव तस्करीमा संलग्नलाई तत्काल कारबाही गर्न र जनचेतना फैलाउनसमेत उनले सरकारलाई सुझाएका छन् । जनचेतनाको कमीले पनि यस्ताको लोभमा नेपाली महिला पर्ने गरेको उनको भनाइ छ । लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् । शान्ति सेना भएका कारण समस्या नपर्ने र पछि अमेरिका जानसमेत सहज हुने झूटो आश्वासन दिएर घरेलु कामदारका रूपमानेपाली महिला त्यहाँ पुर्‍याउने गरिएको छ । कतिपयलाई युरोप लैजाने भनेर पनि त्यहाँ पुर्‍याइएको जानकारी आएको पनि दूतावासले उल्लेख गरेको छ ।