मध्यवर्गीय पर्यटकलाई लक्षित गरी बस सेवा

515

चैत १,
काठमाडौँ । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुईवटा बस सञ्चालन गर्ने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित वैशाखमा चारवटा बस सञ्चालन गरेको उक्त कम्पनीले भोलिदेखि दुई बस सञ्चालनमा ल्याउन लागेको हो । प्रालिका अध्यक्ष प्रह्लाद लोहनीले मध्यमवर्गीय पर्यटकलाई लक्षित गरेर काठमाडौँदेखि पोखरासम्म उक्त सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो । “पर्यटक बसले हाल बिहान ७ बजे पर्यटकलाई कान्तिपथबाट बस सेवा दिइरहेको छ, हामीले ८ बजेदेखि सेवा दिनका लागि उक्त बस सञ्चालन गर्न लागेका हौँ,”– अध्यक्ष लोहनीले भन्नुभयो । ट्राभल नेपालमार्फत हाल सातवटा बस सञ्चालनमा रहेका छन् । काठमाडौँबाट पोखरासम्म सेवा दिएको प्रालिले आगामी दिनमा सौराहा र जनकपुरसम्म सेवा दिने अध्यक्ष लोहनीको भनाइ छ । जम्मा २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था रहेको छ । उक्त बसमा काठमाडौँबाट पोखरा जानका लागि खानासहित रु एक हजार ५०० लाग्ने प्रालिले जनाएको छ । रासस