कुष्ठरोगी खोजी अभियान

227

चैत २,
कञ्चनपुर । कञ्चनपुरका छ वटा नगरपालिकामा कुष्ठरोगी खोजी निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो ।
चैत ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने अभियानका लागि गाउँ÷गाउँ पुगेर कुष्ठरोगी खोजी गर्न एक सय ४० स्वास्थ्यकर्मी र ६१८ महिला स्वास्थ्य स्वयंसेविका परिचालनका लागि तालीम दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले बताए।
“कुष्ठरोगी खोजी गर्न जाने दक्ष जनशक्तिलाई आवश्यक सामग्रीसहित परिचालन गर्न लागेका छौ”उहाँले भन्नुभयो– “कुष्ठरोगीको खोजी गरी अभियानको मुख्य उद्देश्य रोग निवारण गर्नु हो ।”
उपचारमा पहुँच पुग्न नसकेका, लुकेर बसेका र उपचारका बारेमा जानकारी नभएका रोगीलाई उपचारका लागि ल्याइने भएको छ । उपचारमा आएका नयाँ ५२ कुष्ठरोगीमध्ये ४७ जना उपचाररत छन् भने अन्य पाँचजना उपचारपछि रोग निको भई घर गएका छन् । विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । हाल तराईका केही जिल्लामा कुष्ठरोगको संक्रमण दर उच्च देखिएपछि खोजी अभियान सञ्चालन गरिएको हो ।