एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

142
फाइल तस्विर

चैत ४,
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै उहाँले परीक्षाका लागि देशभर गरी एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको बताउनुभयो । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित हुनेछन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायत अन्य सामग्री जिल्लाजिल्लामा पठाउने कार्य सम्पन्न भइसकेको छ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएको छ । जसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।