विद्युत महशुल तिर्न नसक्दा विराटनगर जुटमिल पूनः बन्द

287

चैत ८,
विराटनगर । विराटनगर जुट मिल फेरी बन्द भएको छ । विद्युत महशुल तिर्न नसक्दा संचालनमा आएको तीन महिना पनि नपुग्दै जुट मिल फेरि बन्द हुन पुगेको हो । कम्पनीले विद्युतको बिल नतिरे पछि विद्युत् प्राधिकरणले लाइन काटिदिदा बन्द भएको हो । २०७१ साल भदौ देखि बन्द भएको जुट मिल नयाँ ब्यवस्थापनमा गत मंसीर १० गतेबाट आशिंक रुपमा संचालनमा आएको थियो । जुटमिलले प्राधिकरणलाई ५५ लाखभन्दा बढी विद्युत महसुल बुझाउन बाँकी छ । विद्युतको बक्यौता तिर्न नसक्दा फागुन ३ गते प्राधिकरणले मिलको लाइन काटेपछि मिल फेरी बन्द भएको छ । मिल बन्द भएको र यहाँको समस्या समाधान गर्नुभन्दा संचालकहरु काठमाडौं मै बस्दा कर्मचारीहरुमा निरासा पलाएको विराटनगर जुटमिल प्रशासन शाखा प्रमुख तारानाथ तिम्सिनाको भनाइ छ ।
मिलको सुरक्षा र प्रशासन फाँटका कर्मचारीहरुले २ वर्षभन्दा बढी समयदेखिको तलब पाएका छैनन् । निलही काफ्लेको नेतृत्वमा मिल सञ्चालन हुन थालेपछि नियुक्त गरिएका प्रशासन र सुरक्षा फाँटका कर्मचारीले १ करोड रुपैयाँ पाउन बाँकी रहेको बताइएको छ । मिल संचालनमा आउँछ र आफुहरुले तलब पाइन्छ भन्दै आशा गरेर बसेका कर्मचारी संचालकहरु सम्पर्कमा नआउँदा अहिले हतोत्साहित भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयले मिल संचालक समितिले किर्ते गरेर सरकारको सेयर कम बनाएको भन्दै ६८ प्रतिशत नै कायम गर्ने निर्णय कार्यान्वयन गराउन सञ्चालक निलहरी काफ्ले र अध्यक्ष बसन्त वनलाई ताकेता गर्दै आएका छन् । जुट मिल बन्द भएसँगै यहाँ कार्यरत कर्मचारीको भविष्य पनि अन्योलमा परेको छ ।