काठमाडौँमा पनि लस्सीको व्यापार बढ्दै

193

चैत १३,
काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी मही बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ । प्रतिगिलासको रु ४० देखि रु ८० पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा देख्न पाइन्छ । काठमाडौँमा खसी बजारमा लस्सी बिक्री गर्दै आएका सुमन मेहताले भने– जाडो याममा ठप्प रहेको चिसोको बिक्री विस्तारै गर्मी लागेसँगै बढ्दै गएको छ । आर्थिक अवस्था कमजोर भएकाले कामको खोजीमा लाग्दा थाकिसकेका मेहताले एउटा साइकलमा पानीदेखि लस्सी बनाउन चाहिने सबै थोकको व्यवस्था गरी घुमन्ते व्यापार गर्दै आएको पनि पाँच वर्ष नाघिसकेको छ । स्तरीय पसलमा भन्दा सस्तोमा लस्सी बनाउने भएकाले उक्त व्यवसायबाटै घरव्यवहार चलाउन उन्लाई सजिलो भएको छ । उन्ले भने–थोरै लगानीबाट पनि दैनिक रु ३०० देखि बढीमा रु ९०० सम्म आम्दानी हुन्छ । भारतीय उपमहाद्वीपमा चलनचल्तीमा आएको विश्वास गरिएको लस्सी विशेष गरी गर्मी क्षेत्रमा पिउने गरिन्छ । भारतीय उपमहाद्वीपमा लस्सी बनाउँदा नून, मसला तथा फलफूलको पनि प्रयोग गरिन्छ । कतिपय क्षेत्रमा स्वीट लस्सीको नाममा चिनी हालेर लस्सी खाने गरिन्छ ।बंगलादेशमा लस्सीमा नुन हालेर खाने प्रचलन रहेको छ । पाकिस्तानमा घरघरमा नै लस्सी खाने प्रचलन छ । त्यहाँ पनि नून राखेर लस्सी पिउने गरिन्छ ।