सात वर्षदेखि गलगाँडको भारी बोक्दै चौधरी

282

चैत १४,
कञ्चनपुर । नगरपालिका–९, नौखरीका ६० वर्षीय विश्राम चौधरी सात वर्षदेखि गलगाँडको भारी बोक्न बाध्य भएका छन् । उपचार खर्च नहुँदा चौधरीले गलगाँडको भारी बोक्नु परेको हो । पूर्व कमैया रहेका चौधरीले आर्थिक अभावले गलगाँडको उपचार गराउन नसकेको बताए । पहिले सानै थियो उन्ले भने, “अहिले घाँटीमै झुण्डिन थालेको छ ।” गलगाँड ठूलो हुन थालेपछि घाँटी घुमाउन र तल माथि गर्नसमेत निकै समस्या हुने गरेको उन्ले बताए । दुई वर्षअघि भारतको पिलिभितमा मजदूरी गर्न जाँदा डाक्टरलाई देखाएको थिएँ उन्ले भने, “डाक्टरले भारतीय रु ३० हजार उपचार खर्च लाग्ने बताएका थिए, त्यो रकम जुटाउन नसक्दा त्यसपछि उपचारका लागि कतै पनि देखाएको छैन ।” शल्यक्रिया गरेर गलगाँड झिकेर ठीक हुने भएपनि उपचार रकम नहुँदा समस्यामा परेको चौधरीले बताए । कामका लागि बजार क्षेत्र र गाउँमा पुग्दा सबैजनाले देखेर हाँस्ने गरेका छन् उहाँले दुःखेसो पोख्दै भने, “हाँस्नेहरुलाई नदेखे झैँ गरी आफ्नो बाटो लाग्नुपर्ने हुन्छ ।” “गलगाँड घटाउनका लागि घरेलु विधि पनि हुन्छ भन्छन् तर घटाउनका लागि वैद्यको खोजी गरे पनि भेटाउनै सकिनँ”, उन्ले भने । प्याकेटवाला नून नखाएर त्यसो भएको धेरैले भन्छन्, विश्रामकी श्रीमती लक्ष्मीले भन्नुभयो, “खान त धेरै वर्षदेखि प्याकेटकै नून खाँदै आएका छौँ, कुन कारणले यस्तो भयो ठम्याउनै सकेका छैनौँ ।” “कसैले थाइराइडको समस्या भन्दैछन्, केही लामखुट्टेले संक्रमण गराएर हात्तीपाइले बनाएको भनेका छन्, कसको कुरा पत्याउनु, उपचारका लागि डाक्टरलाई देखाउने पैसा छैन, सित्तैमा कसैले उपचार गरिदिँदैनन्”, उन्ले भने । भूमिसुधार कार्यालयले पुनःस्थापना गराउँदा उपलब्ध गराएको पाँच कट्ठा जग्गामा बस्नका लागि कच्ची घर बनाएका चौधरीसँग कमाइ खाने साधनका रुपमा मजदूरीमात्रै हो । दुई छोरा, दुई छोरी र श्रीमान्–श्रीमती गरी छजनाको परिवारको साँझ बिहानको खाना जुटाउनका लागि उहाँले अधियाँमा खेतमा अन्न लगाउँदै आउनुभएको छ । यसैबाट सबै परिवारको खाना जुट्ने गरेको छ ।