माटोका भाँडा बनाउने पेशा लोप हँुदै

332

चैत १४,
पाल्पा । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो । माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको हो । माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् । कुमाल समुदायको १२० घरधुरी रहेको घोरबन्दामा अहिले भक्तबहादुर कुमाल र देवबहादुर कुमाल दुई घरपरिवारले पुख्र्यौली पेशाका माटोका भाँडा बनाउने काम अँगालेका छन् । अन्य सबै घरपरिवार माटोको भाँडा बनाउने कामबाट विस्थापित बनेका छन् । स्थानीय बासिन्दा भक्तबहादुर कुमालले भाँडा बनाउन माटो अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको उन्को दुःखेसो छ ।