आरोही धमाधम हिमालतिर

261

चैत २०
काठमाडौँ । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ । आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताउनुभयो । हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उहाँको भनाइ छ ।

आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण शुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह आउन अझै केही दिन लाग्ने भएको छ । विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।
सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए । यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो । सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ । सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति ९विदेशी० सँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक रु ३० लाखभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् । सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा पाँच वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष छ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताउनुभयो ।

आरोहणमा कडाइ
विगतमा सगरमाथा आरोहणमा फर्जी कागजात पेश गरेकोजस्ता विवादास्पद गतिविधि बढेपछि विभागले सगरमाथा सहितका हिमाल आरोहणलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जिम्मेबार बनाउन यसवर्षदेखि कडाइ गर्ने भएको छ । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका महानिर्देशक भट्टराईले आफैँ जानकारी गराउन थाल्नु भएको छ । पहिला विभागका उपसचिवबाट यस्तो जानकारी गराइन्थ्यो । महानिर्देशक भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताउनुभयो ।