अपराधको नयाँ शैलीः श्रीमान् फेर्दै, सम्पत्ति कुम्ल्याउँदै

श्रीमान् फेर्दै, सम्पत्ति कुम्ल्याउँदै

227

चैत २०,
काठमाडौं । नेपाली समाजमा विवाह सम्बन्ध महिला–पुरुषलाई जीवनपर्यन्त एक–अर्कासँग जोड्ने डोरी मानिन्छ, तर फैलँदो आर्थिक दायरा, सामाजिक एवं मानसिक विचलन तथा सुखभोगको लालसाका कारण त्यही डोरी श्रीमान्को सम्पत्ति हड्प्ने गलपासो बनिरहेको पाइन्छ । बाह्रबीसे नगरपालिकाअन्तर्गतको विकट गाउँकी समीक्षा कार्की -नाम परिवर्तन- को काठमाडौंका देवेन्द्र आचार्यसँग प्रेम बस्यो । २४ वर्षीया समीक्षा र २३ वर्षीय देवेन्द्र दुवै एक–अर्काबिना बाँच्न नसक्ने भएपछि परिवारको सहमतिमा धूमधामसँग विवाह भयो । विवाह गरेको एक वर्षमा उनीहरूको छोरा भयो । छोरा पाएपछि समीक्षाले माइत आएको मौका पारेर इलाका प्रहरी चौकी बाह्रबीसेमा श्रीमान्ले आफूलाई यातना दिएको जाहेरी दिइन् । श्रीमान् देवेन्द्रले आफूले पारपाचुके गर्न नचाहेको भन्दै इन्कार गरे । हेर्दाहेर्दै विवाद चर्किएर परिवारको प्रतिष्ठासम्म पुग्यो । त्यसपछि समीक्षाले आफ्नो ३ लाख रुपैयाँ लिँदै देवेन्द्रसँग डिभोर्स गरिन् ।

श्रीमान् देबेन्द्र र उनको परिवारले त्यसैमा चित्त बुझाए । फेरि वर्ष दिनपछि तीनै समीक्षा अर्का श्रीमान्विरुद्ध हकदाबी गर्दै प्रहरी चौकी पुगिन् । त्यतिबेला प्रहरीले आलटाल गर्ने कुरै थिएन । दोस्रो श्रीमान् दलेन्द्र खड्का ९नाम परिवर्तन० सँग २ लाख लिएर उनी अकस्मात् गायब भइन् । जुगल गाउँपालिकाकी २७ वर्षीया मिठु विक एक्कासि घरबाट हराइन् । प्रहरी र पति यमराजद्वारा उनको तीव्र खोजी गरियो । घरबाट सुन र पैसा लिएर हिँडेकी मिठुले वर्ष दिनपछि नयाँ श्रीमानसँगै घरमा आएर आफ्नो हक मागिन् । लामो समयपछि भेटिएकी श्रीमती अरूसँगै आएपछि श्रीमान् छाँगाबाट खसेजस्ता भए । अझ, त्यसमाथि आफ्नो सम्पत्तिमाथिको हकदाबीले उनलाई हैरान बनायो । दुवैबीच हात हालाहालको अवस्था सिर्जना भयो । कुरा प्रहरीसम्म पुगेपछि श्रीमान्ले श्रीमतीको इच्छाबमोजिम सम्पत्ति दिन करै लाग्यो । श्रीमान् यमराजतर्फका दुई सन्तानलाई समेत बेसहारा बनाएर श्रीमती मिठु नयाँ श्रीमान् बेतकुमारसँग लागिन् । नौ महिनापछि फेरि तिनै मिठु बेतकुमारले आफूविरुद्ध यौनहिंसा गरेको भन्दै सम्बन्ध तोड्ने क्रममा जिल्ला प्रहरी कार्यालय धाइरहेकी भेटिइन् । लामो समयपछि वेतसँग राम्रै रकम लिएर उनी नयाँ युवक सुवाससँग बेपत्ता भइन् ।

त्रिपुराकै २८ वर्षीया कबोलमाया थामीले एक वर्ष नपुग्दै श्रीमान् हलबहादुर तिमल्सिनासँग सम्बन्ध तोडिन् । विवाहमा आएको पैसा र गहना लिएर हराएकी थामी काठमाडौंमा नयाँ श्रीमान् द्रविन्द्र दंगालसँग फेला परिन् । गहना किन्न नसकेका कारणले कबोलमायाले घर छाडेको छिमेकीहरूको अनुमान थियो । काठमाडौंका द्रविन्द्रसँग पनि उनको सम्बन्ध टिकिरहन सकेन । दुई वर्षपछि उनीहरूबीच सम्बन्ध–विच्छेद भयो । कबोलमायाले आफूलाई कुटपिट गरेको भन्दै छोडपत्र मागिन् । द्रविन्द्रलाई छोडेलगत्तै अहिले थामीले कवीन्द्र घोरासैनीलाई नयाँ श्रीमान् बनाएकी छिन् । विवाह गरेको आठ महिना नपुग्दै चौतारा साँगाचोकगढी नगरकी कान्ती तामाङले एकाएक कसैलाई खबर नदिई घर छाडिन् । श्रीमान् सुरेन्द्र गुरुङ र आफूले जम्मा गरेको सबै रकम लिएर हराएकी कान्ति झन्डै १० महिनापछि घर फर्किइन् ।नयाँ श्रीमान् सुरेशसँग जमेकी कान्ति घरमा आफू बाँचेको खबर दिन आएको भन्दै बिदा भइन् । यद्यपि सुरेशसँग उनको सम्बन्ध टिक्न सकेन । आठ महिना नपुग्दै उनले आफ्नो हकको रकम लिन उजुरी हालिन् । कान्ति अदालती प्रक्रियाबाट आफ्नो हिस्साको सम्पत्ति लिएर बेपत्ता भइन् । माथिका घटना केही प्रतिनिधि घटना मात्र हुन् । सिन्धुपाल्चोकमा यस्ता दर्जनौं घटना प्रहरी तथा अदालतसमक्ष पुगेका छन् । ‘सेन्टिमेन्ट’को प्रयोग गरेर सम्पत्तिका लागि विवाह गर्ने स्वभाव भएका महिलाका कथा प्रशस्तै छन् । सम्पत्तिको प्रलोभनमा परेर अधिकार भन्दै श्रीमान् फेर्ने क्रम अत्यधिक बढेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेल बताउँछन् ।

अरूको जीवनशैलीबाट प्रभावित भएको वा आन्तरिक असन्तुष्टिका कारण दम्पतीहरू छुट्टिने गरेको प्रहरी उपरीक्षक पोखरेल बताउँछन् । वैवाहिक सम्बन्धलाई जीवनपर्यन्त सम्बन्धका रूपमा लिने नेपाली समाजमा घट्न थालेका यस्ता घटनाले पूर्वीय समाजको महत्वपूर्ण सामाजिक परम्परा विवाह–सम्बन्ध नै धर्मराउन थालेको आभास हुन्छ । यसमा महिला–पुरुष दुवै दोषी देखिएको महिला तथा बालबालिका कार्यालयकी नानीमैयाँ बस्नेत बताउँछिन् । ‘सम्पत्ति नै हडप्न विवाह गर्नेहरूमा प्रायस् पढेलेखेका पाइन्छन्, बदलिँदो प्रविधि र आधुनिकताले यस्तो अवस्था निम्त्याइरहेको छ भन्दा फरक पर्दैन,’ उनले भनिन् । यस्ता घटनामा केही अपवादका रूपमा कम पढेलेखेकाहरू संलग्न रहने उनले बताइन् । प्रहरी र सामाजिक कार्यक्रमले रोक्न नसकेको अवस्थामा यस्तो स्वभाव जताततै मौलाइरहेको छ । ललाइफकाइ वा पर पुरुषसँगको प्रेमबाट प्रभावित भएर यस्ता घटना घट्ने बस्नेतको अनुभव छ । फेसबुक, ट्विटर, इमो आदिको तीव्र विकासससँगै सम्बन्धमा नयाँ–नयाँ किसिमका समस्या सिर्जना हुन थालेका छन् । अरूको सुविधासम्पन्न जीवनस्तर देखेर उनीहरूमा यस्तो ‘आइडिया’ आएको हुन सक्ने बस्नेतको बुझाइ छ । मनोवैज्ञानिक रूपमा अति दुस्ख पाएका वा धेरै सुखी जीवन बिताइरहेको अवस्थामा अचानक जीवनस्तर खस्किएपछि पहिलेकै अवस्थामा आउन पनि यस्ता घटना हुने गरेका छन् । ‘२–४ लाख रुपैयाँका लागि विवाहको नाटक गरेर अलग्गिने घटना पनि प्रशस्तै छन्,’ बस्नेत भन्छिन् ।