ज्योति मगरमाथि लाग्यो प्रतिबन्ध !

934

चैत २०,
सुनसरी – वैशाखको पहिलो साता सुनसरीको इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुति रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताउनुभयो ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताउनुभयो । गायिका ज्योति मगरप्रति खरो रुपमा प्रस्तुत हुनुभएकी उपप्रमुख गौतमले भन्नुभयो, ‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढिरहेका छन् । कलाकारको नाममा समाजलाई उत्तेजित पार्ने छुट कसैलाई छैन ।’ गौतमले यस्ता प्रकारका महोत्सवलाई आउँदा दिनमा जिल्ला प्रशासन कार्यालयबाट समेत इजाजत नदिन प्रजिअ गोपालप्रसाद पराजुली समक्ष आग्रह समेत गर्नुभयो । पछिल्ला समय बतात्कारका घटना बढेपछि नियन्त्रणका लागि कार्ययोजना बनाउन देशब्यापी सर्कुलर जारी भएकाले पनि ज्योति मगरको उत्तेजक प्रस्तुतिलाई रोकेको गौतमको भनाई थियो । ज्योतिले उत्तेजक प्रस्तुति नदिई पूरै शरीर ढाक्ने कपडा लगाएर कार्यक्रममा प्रस्तुत हुने भए चाहिँ नरोक्ने गौतमले बताउनुभयो ।-ujyaaloonline.com