पर्यटक लोभ्याउँदै कुडुले घर

782

चैत २१,
पाल्पा । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा घुमारा शैलीका घर बन्न छाडेको स्थानीय बासिन्दा लेखन्त बिसीले बताउनुहुन्छ । निस्दी आन्तरिक पर्यटकका लागि नमूना गाउँपालिका रुपमा स्थापित ग्रामीण क्षेत्र हो । निस्दीको मित्यालमा हावाबाट बिजुली उत्पादन, खादरमा कुडुले घर, झिरुवासमा नमूना अम्रिसो खेती अवलोकन गर्न आउने पर्यटकले कुडुले घरप्रति निकै चासो राख्छन् । पाल्पाको निस्दी गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिकामा प्रशस्त देखिने भए पनि अहिले कुडुले घर औँलामा गन्न सकिने अवस्थामा मात्र रहेको पूर्वखोला गाउँपालिका–२ जल्पाका डोलबहादुर विश्वकर्माको भनाइ छ । एउटा मात्र ढोका हुने कुडुले घरमा गर्मी याममा शीतल र जाडोमा न्यानो हुन्छ । कुडुले घरमा बस्दा सामूहिक भावना बढी हुने गर्दछ । खरले छाएको कुडुले घर भित्र फराकिलो हुने र एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउनसमेत मिल्ने स्थानीय बासिन्दा मनिसरा ढेँगाले बताउनुभयो । पातीले बारेर र लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुङ्गा माटोले पर्खाल उठाउने चलन आएको छ । ग्रामीण क्षेत्रमा यसको महत्व कम भएपनि शहरी क्षेत्रमा भने यसको महत्व बढेको बुढापाका बताउँछन् । होटल तथा रिसोर्टमा कुडुले घरका नमूनाहरु देखिन्छ । मेला तथा महोत्सवसमेत कुडुले घरका झल्को हेर्न पाइन्छ । परम्परागत कुडुले घरको संरक्षणका लागि स्थानीय सरकारबाट पहल हुनुपर्ने स्थानीय बासिन्दाको सुझाव छ । रासस