चैत २३ देखि २९ गतेसम्मको राशिफल

203

मेष- साझेदारीमा थालिएको कार्यले अवसरको ढोका खोल्नेछ । आफ्नै शारीरिक कमजोरी एवं आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्ने भएकाले समयको व्यवस्थापन गर्नु आवश्यक छ । नौला स्थानको भ्रमणमा प्रेमिकाले खर्च गराउन सक्छिन् । अविस्मरणीय क्षणको अनुभवसमेत सँगाल्न सकिनेछ ।

वृष- व्यवहारमा देखा पर्ने आर्थिक हैरानीबाट मुक्त हुन ठूलाबडाको सल्लाह लिनुहोला । कार्यव्यस्तताले स्वास्थ्यमा गडबडी सिर्जना गर्न सक्छ, हेलचेक्र्याइँ गर्नु नोक्सानदायक सावित हुनसक्छ । साताको अन्त्यमा घरायसी सरसामग्री जोहो गर्न समय खर्चनुपर्नेछ ।

मिथुन- साताको सुरुका दिन मनोरञ्जक रहनेछन् । साथीभाइहरूसँग भ्रमणमा जान अभिभावकले बन्देज लगाउन सक्छन् । दुई–चार स्थानको धार्मिक भ्रमण गर्ने जमर्को गरे पनि सबै स्थलमा पुग्न सकिनेछैन । साताको अन्त्यमा चिसोबाट जोगिनु नै बेस हुन्छ । आहार–विहारमा संयम अपनाउनुहोला ।

कर्कट- विगतमा गरिएका कार्यले झन्झट सिर्जना गर्न सक्छ, व्यवस्थापन गर्न ढिलाइ नगर्नुहोला । विदेश यात्राको तयारी अपुरो हुन सक्छ । आधुनिक मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्नेछ । साताको अन्त्यमा मीठा परिकारमा रम्न पाइनेछ ।

सिंह- प्रेमप्रस्तावमा समय लिएर निर्णय दिँदा आफू सुरक्षित भइनेछ । सामूहिक लगानीको काममा बाधा–व्यवधान देखा पर्न सक्छ । परिस्थिति पहिचान गरी सम्पन्न गरिएको कार्यले उचित स्थान पाउनेछ । आर्थिक कारोबार गर्दा अभिभावकको सुझाव अनुसरण गर्नुहोला ।

कन्या- निरन्तर फाइदा हुने कार्य प्रारम्भ गर्ने अवसर जुट्न सक्छ । प्रलोभन देखाउनेहरूसँग टाढै रहँदै प्रतिष्ठा जोगाउन प्रयास गर्नुहोला । प्रेमको बन्धन अझ कसिएला । बुधबारपछि मनोरञ्जक स्थलको भ्रमण हुनसक्छ । खानपान तथा भोजभतेरमा संलग्न हुँदा समयको ख्याल गर्नुपर्नेछ ।

तुला- आफ्नो व्यक्तित्व तथा सुन्दरताप्रति आकर्षित हुनेहरू प्रशस्तै हुनेछन् । मांगलिक कार्यमा बाँधिने प्रस्तावसमेत प्राप्त हुन सक्छ, अभिभावको रुचि तथा स्वविवेकका आधारमा निर्णय गर्नुहोला । कम बोल्नुमै फाइदा छ । साताको अन्त्यमा वनभोज तथा भ्रमणमा रमाइनेछ ।

वृश्चिक- अध्ययनका निम्ति विदेश जाने प्रेरणा तथा सुझाव प्राप्त हुन सक्छ । विदेशी पाहुनाहरूसँगको भेटघाट तथा मनोरञ्जनले मानसिक तनाव कम गर्नेछ । रोजगारीको अवसर हात पार्न थप परिश्रम गर्नुपर्नेछ । खानपानको फेरबदलले स्वास्थ्यमा गडबडी सिर्जना गर्न सक्ने सम्भावना छ । रातो रंगलाई प्राथमिकता दिएसाता अविस्मरणीय हुनेछ ।

धनु-  हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्ना सरसामान जोगाउने चेष्टा गर्नुहोला । काममा सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्‍याउनुहोला । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ ।

मकर-  लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । विपरीत लिंगीले प्रेम प्रस्ताव राख्न सक्छन् । गरिब तथा असहायहरूलाई सहयोग गर्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई उछिन्ने हौसला प्राप्त हुनेछ । खरानी रंगलाई प्राथमिकता दिए जीवनमा नयाँ उत्साह थपिन सक्छ ।

कुम्भ-  पारिवारिक भेटघाटले मांगलिक कार्यको मिति निर्धारण गर्न सक्छ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत पुर्‍याउनेछ । सामाजिक हैसियत कायम राख्न जीवनशैलीमा परिवर्तन आवश्यक छ । आम्दानी रामै्र भए पनि फजुल खर्चले सताउन सक्छ । तपार्इंको संयम एवं प्रभावले बिग्रन लागेका कामसमेत सफलतामा परिणत हुनेछन् ।

मीन- आफन्त तथा अभिभावकको निगरानीले व्यवहारिक बन्न प्रेरणा दिनेछ । ठूला योजनालाई परिणाममुखी बनाउन प्रेमिकाले सहयोग गर्नेछिन् । मन मिल्ने मित्रहरूको सुझाव आत्मसात् गर्न सके उचाइमा पुगिनेछ । सभा–सम्मेलनमा सहभागी भै नाम एवं दाम कमाउन सकिनेछ । –साप्ताहिकबाट लिएको