घारखोला जलविद्युत्को निर्माण कार्य शुरु

242

चैत २५,
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए । आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युत्गृहसम्म पानी खसाल्नका लागि तीन किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करीव एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा रु दुई अर्ब ४१ करोड लगानी अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए ।