दमकमा तीन दिनदेखि टेलिफोन अवरुद्ध

258

चैत २७,
झापा । दमकमा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा तीन दिनदेखि अवरुद्ध छ। गत शनिबारदेखि दमकको केही क्षेत्रका ल्याण्डलाइन टेलिफोन नचल्दा सेवाग्राही मर्कामा परेका छन्। सार्वजनिक महत्वको सेवा कुनै कारण अवरुद्ध हुँदा सेवाग्राहीलाई सार्वजनिक सूचनामार्फत अग्रिम जानकारी दिनुपर्नेमा टेलिकमले जानकारी दिएको छैन। ‘ल्याण्डलाइन टेलिफोन बिनासूचना बन्द भएको तीन अवरुद्ध छ,’ स्थानीय राम पौडेलले भने, ‘सेवाग्राहीे कारण र अवरुद्ध हुने समय सीमबारे कुनै जानकारी छैनन्।’ दमकको मध्य भागमा सेवा अवरुद्ध हुँदा यहाँ रहेका स्वास्थ्य संस्था, वित्तीय संस्था, सञ्चार संस्थाहरुमा बढी असर पुगेको छ। यस विषयमा टेलिकम दमकका प्रमुख दिपककुमार निधीले वडा नम्बर ५ का तीन स्थानमा स्थानीय सडक उपभोक्ता समितिको आग्रहमा टेलिकमको तार स्थानान्तरण गर्ने काम भइरहेकाले सेवा अवरुद्ध हुन पुगेको बताए। उनले भृकुटी चोक, हरिओम कोलनी र सगरमाथा पेट्रोल पम्प क्षेत्रमा टेलिकमको ल्याण्डलाइन तार स्थानान्तरण गर्ने काम तीन दिनदेखि चालू रहेको बताए। उनले भृकुटी चोकमा तार स्थानान्तरणका विषयमा कर्मचारीलाई काम गर्न असहज भएकाले सेवा सुरु गर्न ढिलो भएको जनाउँदै भने, ‘यो एक घण्टा समय लाग्ने काम हो। तर हाम्रा प्राविधिक कर्मचारी बारम्बार त्यहाँ काम गर्न जाँदा अवरोध गरिएकाले ढिलो भएको हो। सके सम्म चाँडै सेवा सुचारु हुन्छ।’ उनले सेवा अवरुद्ध हुनेबारे सेवाग्राहीहरुलाई मौखिक रुपमा मात्रै जानकारी गराइएको तर औपचारिक रुपमा सूचना नगरिएको प्रतिक्रिया दिए।