रोगले कुखुरा मर्दा व्यवसायीको लाखौं नोक्सानी

261

चैत २८,
चितवन । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताउनुभयो । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताउनुभयो । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताउनुभयो ।
यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताउनुभयो । चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिनुभयो ।