कविताः प्रेमको खेती

220

सुशिला पौडेल,

सखारै छोडेको छ उसले गाउँ
बाबाको नागरिकता देखाएर सिलाएको
दुई जोडी उधारो कोटहरु बोकेर
कोटहरुसङ्गै बोकेको छ उसले
कोटसङ्ग मिल्दाजुल्दा सपनाहरू ।

के क्षमता छैन र ऊ भित्र ?
के प्रतिभा छैन र ऊ भित्र ?
उसले वेद ,बाइबल र कुरान पढेको छ
पढेको छ इतिहास ,अर्थनीति ,कुटनीती
नेपोलियनको प्रेमपत्र उसैले पढेको छ
रोमियो जुलियटको कथा कण्ठै बनाएको छ
ताज महलको राज जानेको छ,रानी महलको भाव बुझेको छ
हिटलर र इभाको प्रेमको विश्लेषण गरेको छ ।

योग्यताको प्रमाणपत्र त किन चाहियो र ? यो देशमा
अरु हिंड्दा कुदन सक्छ ऊ बिजुलीको वेगमा
घन्टौं लामो भाषण गर्न जानेको छ उसले
गुटको आस्थालाई आदर्श मानेको छ उसले
संघठनको झन्डा र भागबन्डाको खेल बुझेको छ
झन्डाको शरणमा सधैं सधैं बस्ने विचार सुझेको छ
खोस्नु छ उसलाई यो देशको सत्ताको साँचो
गर्नु छ उसलाई राजनीति ,अर्थको छ निकै खाँचो ।

देखायो चिना र थाह पायो उसले
राजयोग लेखेको छ रे उसको निधारमा
कहिले घाटा नहुने फलिफाप मात्रै हुने
भाग्य नै झलमलाउँ छ रे व्यापारमा
आफ्ना सबै योग्यता लगाएर पुजी कमाउँदै छ ऊ
आफ्नो अदभूत क्षमतामा रमाउँदै छ ऊ
सहर झरेपछि थपिएका छन उसका कोटहरु
अघिपछि लागिरहन्छन नोटहरू ।

मखमली मुस्कानबाट थालेको छ उसले व्यापार
नाफै नाफा भइरहेको छ लगातार
यो प्रेम दिवसमा पनि किनेको छ उसले
केही थान राता गुलाफका गुच्छाहरु
गरिरहेको प्रेमको खेती जोगाउनु छ उसले
हिर्दयको व्यापार फलाउनु छ उसले
यो राष्ट्रको गौरव बन्न मौलाउनु छ उसले बुलेट प्रुफु गाडी भित्र चढेर हेर्नू छ उसले
उसैलाई माथी पुर्याउने प्रेमको खेती मौलाएको व्यापार चलाएको, इशारामा नचाएको उसको सहर ।।
कपन-काठमाडौ