युवती हत्याको अभियोगमा युवक पक्राउ

139
सांकेतिक चित्र

बैशाख ३,
सुर्खेत । सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । हत्याको बारेमा प्रहरीले आइतबार यहाँ सार्वजनिक गरेको छ । फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनुभयो । चपाईको हत्या गरेको भोलिपल्ट सुवास सुर्खेतबाट भागेर काभ्रेपलाञ्चोक गएको प्रहरी प्रमुख चतुर्वेदीले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ पर्नुअघि सुवास काभे्रपलाञ्चोक जिल्लाको भुम्ती गाउँपालिका–४, पोखरीचौबासमा मजदुरी गरी बसेका थिए । हत्या भएको एक महिनापछि २०७४ साल माघ ९ गते पञ्चपुरी नगरपालिका–८, जामुने वनमा गीताको कंकाल फेला परेको थियो । त्यसपछि गीताको शव खोजी गर्ने क्रममा टाउकोको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, कपालमा लगाएको क्लिप, एक जोडा कपडा, चप्पल फेला परेको चतुर्वेदीले बताउनुभयो । हत्या अभियोग लागेका सुवासलाई २०७४ साल चैत २८ गते काभ्रेमा पक्राउ गरी गत शनिबार सुर्खेत ल्याइएको हो । सुवासले गीतालाई पुस ४ गते राति खोलामा धकेलेको प्रहरीलाई बयान दिएका छन । २०७४ साल पुस ४ गते राति सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटकी चपाईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।