‘महिनावारी भएका किशोरीले मात्र….’

196

सिन्धुली । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।” तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ ।

“किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन सक्दैनन् भनेर खोजी गर्दा महिनावारी पनि एक कारण रहेछ, महिनावारी हुँदा पढ्न जाँदा साथीले के भन्छन्, तल्लो पेट दुखिरहने, कहिलेकाहीँ त बढी रक्तस्रावसमेत हुने भन्दै उनीहरु विद्यालय नआउने रहेछन् ।” दीर्धप्रदीप उच्च माध्यमिक विद्यालय शीतलपाटीका स्वास्थ्य विषयका शिक्षक लोकबहादुर श्रेष्ठ विगतका समस्या सुनाउनुहुन्छ । “अभिभावक भेला, व्यवस्थापन समितिका बैठक एवं विद्यालयको आन्तरिक छलफलमा पुस्तकालयको एउटा दराजमा उनीहरु (छात्रा)को सहज पहुँच पुग्ने गरी सेनेटरी प्याडको व्यवस्था गरी वितरण कार्य शुरु गरौँ । अहिले खुलेर महिनावारी भएका छात्राले प्याड लान्छन् र प्रयोग गर्छन् त्यसैले उनीहरुको विद्यालय उपस्थितिमा असर परेको छैन । पढाइमा निरन्तता छँदैछ । खुलेर आफ्ना यौन तथा प्रजनन समस्या भन्ने गर्छन् ।” सोही विद्यालयका प्रअ शंकर उप्रेतीले भन्नहुहुन्छ । कक्षा आठदेखि १२ सम्मका करीब १५० भन्दा बढी छात्राले मासिक रुपमा सेनेटरी प्याडको प्रयोग गर्ने गरेको विद्यालयको तथ्याङ्क छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सो विद्यालयले जस्ताको टहरामुनि भए पनि पुस्तकालय सञ्चालन गरेको छ । “यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्न छात्रछात्रा लजाउँथे, कक्षामा मुख छापेर बस्थे । पुस्तकालयमा यससम्बन्धी जानकारीमूलक सामग्री राख्न थालेपछि उनीहरु लजाउन छाडे । अहिले त खुलेर आफ्ना कुरा भन्छन् । चिकित्सकीय समस्या भएमा स्वास्थ्य चौकी जाउ भन्छु”, शिक्षिका गोमा सुवेदीले भन्नुहुन्छ ।

कथा, कविता, उपन्यासलगायत विभिन्न विधाका पुस्तक पुस्तकालयमा छन् । साथैै किशोरकिशोरीका लागि आवश्यक पर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पुस्तक, पम्प्लेट, बुकलेट एवं छात्राका लागि सेनेटरी प्याडको व्यवस्था छ ।
“किशोरकिशोरी अवस्थाका लक्षण, कुन उमेरमा विवाह गर्ने, कति समयपछि बच्चा जन्माउने, परिवार नियोजनका कुन साधन कसरी अपनाउने, सुरक्षित यौन व्यवहार भनेको के हो ? लगायतका कुरा यहाँ (पुस्तकालय) पढ्न पाइन्छ ।” सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सजिना माझी बताउनुहुन्छ । पूर्वेली खबर