जनकपुरमा जानकी नवमीको भव्य तयारी

258

वैशाख ६,
धनुषा । त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख ३ देखि १६ गतेसम्म जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाइने तयारी भइरहेको छ । जानकी नवमीका अवसरमा अतिथिलाई स्वागत, दूधमती नदीमा शाही स्नान, शोभा यात्रा, बधाई, झाँकी प्रदर्शनलगायतका कार्यक्रम तय गरिएको छ जसअनुसार वैशाख १० गते रामायण मेला र रामायण सत्रको उद्घाटन तथा ११ गते दूधमती नदीमा शाही स्नानको कार्यक्रम तय भएको छ । जनकपुरसहित मिथिलाञ्चल सीताको जन्मभूमि रहेकाले यहाँ ‘जानकी नवमी’ धुमधामका साथ मनाउने परम्परा छ । ‘जानकी नवमी’का अवसरमा मिथिलाञ्चलमा दीपावलीसमेत गर्ने गरिन्छ भने मैथिली भाषा अनुयायी यस दिनलाई मैथिली दिवसका रुपमा समेत मनाउने गर्दछन् । जानकी नवमी मनाउने तयारीस्वरुप विभिन्न निकायसँग समन्वयका लागि जानकी मन्दिरमा बैठक सम्पन्न भएका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार रामायण मेलामा राष्ट्रपति भण्डारीलाई सरिक हुन विशेष आमन्त्रण गरिएको छ । महन्थ दासले भन्नुभयो, “जानकी नवमीको मुख्य दिन अतिथिका रूपमा राष्ट्रपतिलाई निमन्त्रणा गरेको छौँ । जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी हो । यसमा नेपाल र भारतका हजाराँै पर्यटक सहभागी हुनेछन् ।” उहाँले नेपालमा सीताको जन्म भएको अवसरलाई मुख्य प्राथमिकतामा राखेर पर्यटक भित्र्याउन जानकी नवमी मनाउने तयारी गरिएको बताउनुभयो । यस महोत्सवलाई सफल बनाउन जनकपुर उपमहानगरपालिकाले शौचालयको व्यवस्था तथा नगर सरसफाइ गर्नुपर्ने, विद्युत् प्राधिकरणले उत्सव अवधिमा सकभर विद्युत्भार कटौती नहुने गरी व्यवस्था मिलाउनुपर्ने, जिल्ला समन्वय समितिले जानकी मन्दिर क्षेत्र सजाउने, खानेपानी तथा सरसफाइ कार्यालयले अस्थायी खानेपानीको व्यवस्था मिलाउने र हुलाकी सडक कार्यालयले जनकपुर–भिठामोड तथा नगरपालिकाले नगरभित्रको सडक व्यवस्थित गर्नेलगायत जिम्मेवारीसमेत तोकिएको छ । सीताको जन्मोत्सवमा मनाउन जानकी मन्दिरलाई नव दुलही झैँ सिँगारिएको छ । मन्दिरको बाहिरी र भित्री परिसरमा पन्डालको निर्माण गरिएको छ जहाँ धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।