नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

603

बैशाख ७,
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले सुनजस्तो धातुलाई सुन भनी रु २८ लाख ६० हजार ठगी गर्ने रामेछापका अजय तामाङ र सोही ठाउँका विष्णु मोक्तानलाई बुधबार पक्राउ गरेको हो । परिसरले बिहीबार पत्रकार सम्मेलन गरी सुनजस्तो देखिने धातुलाई सुन भनी ठगी गरेको बताएको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले पुस २३ गते भक्तपुर सूर्यविनायकका राजेन्द्र थापालाई नागार्जुन सेतो गुम्बा जाने बाटोमा रु २८ लाख ६० हजारमा ठगी गरी फरार भएको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । यस्तै, विभिन्न कम्पनीका मोबाइल र ल्यापटप चोरी गरी फरार गिरोहलाई बुधबार पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले ३३ थान मोबाइल, दुई थान आइफोन प्याड, टेलिभिजन दुई थान, डिजिटल क्यामरा दुई थान, नेपाली रुपैयाँ ४३ हजार ५००, भारतीय रुपैयाँ दुई हजार र पाँच थान ल्यापटपसहित काठमाडौँका दीपेश श्रेष्ठ र सिन्धुपाल्चोकका सुवास खड्कालाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख पोखरेलले बताउनुभयो । यसैगरी, बौद्ध वृत्तले नै सामाजिक सञ्जालमार्फत चिठृा प¥यो भन्दै रु एक लाख ४५ हजार ८०० ठगी गर्ने चितवनका अभिषेक गौतम र राम पौडेललाई बुधबार नै पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ । ठगीमा संलग्न व्यक्तिलाई मुलुकी ऐनको ठगीको महलबमोजिम ठगी लिएको बिगोबमोजिम जरिवाना र पाँच वर्ष कैद हुने व्यवस्था रहेको छ ।