सैनिक अस्पतालः भवन ९ तला मात्र बन्दै, सामान खरिद १७ तलाका लागि

325

बैशाख १०,
काठमाडौं । वीर अस्पताल नजिकै नेपाली सेनाले धमाधम त्रिचन्द्र मलिटरी अस्पताल निर्माण गरिरहेको छ। काठमाडौँको महाबौद्धस्थित सेनाको उक्त अस्पताल निर्माणका क्रममा अनियमितता भइरहेको फेला परेको छ।
सेनाले उक्त अस्पताल ९ तलाको बनाउन लागेको हो। तर, अस्पतालका लागि भनेर १७ तलासम्म पुग्ने गरी सेनाले टायल खरिद गरेको भेटिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भवन निर्माण सम्पन्न हुनु अघि नै सेनाको प्रबन्धरथी विभागले अनावश्यक रुपमा टायल र ढोका खरिद गरेको उल्लेख छ। सेनाले भवन निर्माण नहुँदै २०७०र७१ मा १० करोड ३२ लाख खर्च गरेर ३७ हजार वर्गमिटरको टायल किनेको थियो। त्यस्तै २ करोड ९३ लाखको ‘एबिएस डोर’ सहित १३ करोड २६ लाखको सामान किनेको थियो। सामान अझै प्रयोगमा आउन सकेको छैन।

अस्पतालको ९ तले भवनका लागि १७ हजार २५६ वर्गमिटरमा टायलहरु प्रयोग हुनेछ। तर, आवश्यकताभन्दा १९ हजार ९१७ वर्ग मिटर टायल बढी खरिद भएको प्रतिवेदनले देखाएको छ। टायल प्रयोग गर्ने अवस्थामा निर्माण कार्य नपुग्दै टायल खरिद गरी बढी मौज्दात गर्नेलाई जिम्मेवार बनाउनुपर्दछ’, प्रतिवेदनमा भनिएको छ। सेनाले २०७० सालमा १७ तलाको भवन बनाउने प्रक्रिया अगाडि बढाएको थियो। तर, २०७२ सालको भुकम्पपछि ९ तले भवन बनाउने निर्णय भएको हो। सेनाले अस्पताल निर्माण सम्पन्न गरिसक्नुपर्ने मिति समेत किटान गरेको छैन। नेपाली सेनाका जवानहरुले शान्ति स्थापना कार्यमा खटिई सेवा गरेबापत प्राप्त रकमबाट सैनिक कल्याणकारी कोष नियमावली, २०६५ अनुसार यस अस्पतालको निर्माण कार्यमा लगानी भएको छ । उक्त निर्माण कार्यमा २०७०।७१ देखि यो वर्षसम्म १ अर्ब २३ करोड २६ लाख ५६ हजार खर्च भएको छ। –स्वास्थ्य खबर डट