थाहै नदिई डिभोर्स ः सबै सम्पत्ति लिएर श्रीमती बेपत्ता

178

बैशाख १०,
झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण थियो– उनलाई थाहै नदिइ श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो बिर्तामोड नगरपालिका वडा नं। ५ को । चर्को घाम–गर्मी, भोकतिर्खा सबै सहेर परिवारसंग बाध्यतावस सात समुन्द्रपारि ती पुरुषले बिताएको १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीवीकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो । त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो ।
१९ वर्ष अघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी धन कमाउने र घरपरिवारको राम्रो हेरचाह गर्दै परिवारलाई सुख सयलसँग पाल्ने सपना बुन्दै पुनः इराक पुगे । पछि अफगानिस्थानमा रोजगारीमै रहेका बेला बिरामी परेपछि उनी घर फर्किएका थिए । तर, श्रीमतीले उनलाई आठबर्ष अघि नै ‘डिभोर्स’ दिएकी रहिछिन् । भएको चल अचल सम्पत्ति श्रीमतकै नाममा थियो । श्रीमानसँग ‘डिभोर्स’ गरे पनि उनले श्रीमानलाई त्यो कुरा सुनाइनन् । श्रीमानले विदेशबाट पठाएको सबै सम्पत्ति हात पारेपछि बिरामी अवस्थामा फर्किएका ती पुरुषलाई उनले गलहत्याउँदै घरबाट निकालिन् । त्यो बेला मात्र उनले थाह पाए श्रीमतीले थाहै नदिई ‘डिभोर्स’ गरेकी रहिछिन् । उनकी एक छोरी छिन् । उनी आमासँगै बस्दै आएकी छिन् ।

श्रीमतीले गलहत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा केही दिन अघि उनी बिर्तामोड नगरपालिका आएको नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले बताइन् । उनले भनिन्– श्रीमतीका कारण आफू पीडित बनेको भन्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि हामीले सबै कुरा बुझ्यौं, बास्तबमै उनी पीडित रहेछन् । यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाउनु पूर्व ती पुरुष बिरामी भएकाले उपचारका लागि पठाइएको थियो– न्यायिक समिति संयोजक समेत रहेकी प्रसाईंले भनिन् – उनको त्यही क्रममा मृत्यु भयो । बिर्तामोड नगरपालिका–९ निवासी रिजाल थरका अर्का एक व्यक्तिको पीडा पनि उस्तै छ । बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका बेला श्रीमानलाई थाहै नदिइ श्रीमती अर्कैसँग गएपछि उनको पनि घर भाँडियो । भएको अचल सम्पत्ति पनि श्रीमतीको नाममा रहेछ बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाईले भनिन् – श्रीमानले पठाएको सबै पैसा लिएर उनी सशस्त्र प्रहरीका एक व्यक्तिसँग गएकी रहिछिन्, उजुरी परेपछि उनलाई पक्राउ गरेर आधा सम्पत्ति ती पुरुषलाई दिलायौं ।

खोटाङमा कार्यरत सशस्त्र प्रहरीलाई समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरी छलफलबाटै यो समस्याको समाधान गरेका छौं– उपप्रमुख प्रसाईले भनिन् – मैले भनेका दुईवटा केस प्रतिनिधि घटना मात्रै हुन्, यस्ता उजुरी धमाधम न्यायिक समितिमा आउन थालेका छन् ।
बिर्तामोडमा मात्र होइन यस्ता उजुरी दमक नगरपालिकामा पनि अधिक परेका छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार पुरुष हिंसाका उजुरी झण्डै दुई दर्जनको हाराहारीमा न्यायिक समितिमा परेका छन् । अधिकांश उजुरी बिदेश जाने पुरुषका छन् । कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन् भने कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन्– उपप्रमुख अधिकारीले भनिन्– बैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको छ भने अर्कातर्फ घर परिवार बिगारेको पनि छ ।

दमक नगरपालिकामा श्रीमतीको नाममा जग्गा भएकाहरु धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन् । बैदेशिक रोजगारीमा रहेका पुरुष घर फर्किंदा श्रीमती बेपत्ता बनेको र धन सम्पत्ति समेत लिएर हिँडेका उजुरी पर्न थालेसँगै दमकमा पुरुष पनि हिंसामा परेको हामीले पाएका छौं – उपप्रमुख अिधिकारीले भनिन् ।
श्रीमती विदेश गएपछि नफर्किने र उतै अर्कैसँग विवाह गरेर घरजाम गरेका र श्रीमान् श्रीमतीको संयुक्त नाममा रहेको अचल सम्पत्ति रोकिएकाले फुकुवा गरी पाउँ भनेर नगरपालिकामा केही उजुरी परेको बताइएको छ । दमक नगरपालिकामा अधिकांश उजुरी अंश, साँध सीमाना, छोराछोरीले बुबा आमाको हेरचाह नगरेको र पुरुष हिंसाका उजुरी पनि धमाधम परिरहेको न्यायिक समिति संयोजक समेत रहेकी अधिकारीले बताइन् । उनले भनिन् – पुरुष पनि हिंसामा परेर न्याय माग्दै आएकोमा दुई जनाको सम्बन्ध बिच्छेदको सिफारिस नै गरिसकेका छौं । –साभारः पूवेली न्युज