पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी

219

बैशाख २१,
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी शुरु गरेको छ ।
यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले झण्डै रु दुई करोड रकम विनियोजन गरेर काम थालेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण एंव प्रचारप्रसारलाई तीव्रता दिनेगरी कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
यो वर्षमात्रै पर्यटन पूर्वाधार तथा सडक निर्माणका लागि करीब रु दुई करोड बजेट विनियोजन गरेको भन्दै प्रमुख श्रेष्ठले शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटक समेत भित्र्याउने योजना बनाइएको बताउनुभयो ।

पहाडी पर्यटकीय क्षेत्र चितवनको शक्तिखोरस्थित सिन्ती झरनालगायत क्षेत्रमा अहिले पनि आन्तरिक पर्यटक जाने गरेका छन् । विदेशी पर्यटक औंलामा गन्न सकिने भएकाले अब विदेशी पर्यटक समेत भित्र्याउने र स्वदेशी पर्यटक बढाउने गरी काम शुरु भएको छ ।