भक्तपुरमा मिलेमतोमा ‘अवैध बालुवा’ खानी सञ्चालन

946
सांकेतिक तस्विर

बैशाख २७,
भक्तपुर । प्रहरी र प्रशासनकै मिलेमतोमा चाँगुनारायण नगरपालिकाका झौखेल र दुवाकोटमा व्यापक रुपमा अवैध दर्जन बालुवा खानी सञ्चालन भएको आरोप लागेको छ ।
अवैध बालुवा खानी सञ्चालन हुँदा भूमि दोहन बढेको छ भने गाउँगाउँमा जाने सडकसमेत बिग्रिएर हिँड्नै नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयमै गएर उजुरी दिँदा समेत सुनुवाइ नभएको स्थानीय बासिन्दाले पत्रकारलाई बताएका छन् । नगरपालिका– २ मा व्यवसायी राजेन्द्रप्रसाद आगञ्जाले कानूनविपरीत बालुवा खानी र धुने काम सञ्चालन गर्दा स्थानीय कासुला टोल जाने बाटो बिग्रिएर हिँड्नै नहुने अवस्थामा पुगेको पूर्णभक्त सुवालले बताउनुभयो ।
आगञ्जाको बालुवा खानी र बालुवा धुलाइले गाउँमा जाने बाटो बिग्रिएर हिँड्नै नहुने अवस्था भएको र गाउँका बस्तीले निकै कठिनाइ भोग्नुपरेको बताउनुभयो । “बालुवा वासिङका लागि खानीले जमीनमुनिको पानी निकाल्दा खानेपानीको मुहान बन्द भएको छ, सडकसमेत मासिएको छ”, उहाँले भन्नुभयो ।

सोही ठाउँमा सात वर्षदेखि गाई फार्म सञ्चालन गर्दै आउनुभएका प्रदीपराज पन्तले आफूसहितको स्थानीयवासीको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई अवैध खानी बन्द गराउन माग गर्दा आफू उल्टै थुनिनुपरेको बताउनुभयो । पन्तले भन्नुभयो, “नगरपालिकाको पत्र लिएर प्रमुख जिल्ला अधिकारीकहाँ अवैध खानी बन्द गराउन र मासिएको बाटो खुलाउन माग गर्न जाँदा उल्टै ठूलो स्वरले बोलेको भन्दै मलाई अपराधी जस्तो गरी हतकडी लगाएर प्रहरी परिसरको थुनुवा कक्षमा दिनभर थुनियो, किसान र स्थानीयवासीले आन्दोलन गर्ने सुइँको पाएर राति छोडियो, अब न्याय माग्न कहाँ जाने रु”
प्रजिअ भट्टले दिउँसो पन्तलाई थुनामा राख्ने आदेश दिए पनि राति उहाँकै आदेशमा छाडिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीले थुन्ने आदेश दिनुभयो, हामीले थुनिदियौँ, पछि छाड्ने आदेश दिनुभयो छाडिदियौँ, पन्तले जिल्ला शिक्षा अधिकारीसँग चर्को स्वरमा अभद्र भएर कराएको पाइएको छ ।”

प्रजिअ भट्टले स्थानीयवासीको मागअनुसार तत्काल खानी बन्द गराएर बुधबार नै प्रहरीलाई लिखितपत्र पठाइएको बताउनुभयो । खानी सञ्चालक आगञ्जाले भने जिल्ला समन्वय समितिसँग माटो खानी सञ्चालनको अनुमति लिइएको र जिल्ला घरेलु कार्यालयबाट बालुवा धुने अनुमति लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो खानीले बाटो बिगारेको पनि छैन, अवैध पनि होइन, मैले अनुमति लिएर नै सञ्चालन गरेको हुँ, मैले यसको राजश्वसमेत तिर्दै आएको छु ।” पत्रकारको टोली आज झौखेल र दुवाकोटका खानीमा पुग्दा अवैध करीब आठ बालुवा खानी निर्धक्कसँग चलेका थिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अवैध रुपमा सञ्चालित खानीलाई बन्द गराउन प्रहरी प्रशासनलाई पत्राचार गरिएको बताउनुभयो ।

१० ट्रक बालुवा बेपत्ता
जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर, जिल्ला समन्वय समिति, नगरपालिका, नगर विकास प्राधिकरण भत्तपुरलगायतको मिलेमतोमा बालुवा तस्करी भइरहेको आरोप लाग्दै आएको छ । चाँगुनारायण – ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालसहितको टोलीले अवैध रुपमा खानी सञ्चालन भएको स्थानबाट बुधबार साँझ नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको १२ ट्रक बालुवामध्ये १० ट्रक बालुवा बाटामै हराएको छ । जनप्रतिनिधिको टोलीले बुझाएको बालुवाको गाडीलाई समेत कुनै कारवाही नगरी प्रहरीले बीचबाटाबाटै छाडिदिएपछि प्रहरी र प्रशासनको मिलेमतो भएको पुष्टि भएको जनप्रतिनिधिले बताएका छन् । प्रहरी उपरीक्षक राणाले भने प्रहरीले तीन ट्रक बालुवामात्रै नियन्त्रणमा लिएको जिकिर गर्नुभयो ।