ओली सरकारको महत्वपूर्ण कार्यः अनावश्यक भत्ता खारेज

123

बैशाख २७,
काठमाडौं । सरकारले खर्चमा मितव्ययीता ल्याउन सार्वजनिक खर्चमा कडाइ गरेको छ । बुधबार मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुनेछ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ । केही निकायका पदाधिकारीहरूले एक दर्जन प्रकारका भत्ता खाँदै आएका छन् । जुन तलवको दोब्बररतेब्बरसम्म देखिन्छ । यस्तो विकृतिलाई उक्त नीतिले रोकेको हो ।

कुनै निकायमा लागू गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई पनि वस्तुगत आधारमा सेवाप्रवाहसँग आवद्ध गर्नेगरी पुनरावलोकन गर्ने व्यवस्था उक्त नीतिमा छ । कानूनमै व्यवस्था भएकाहरुको हकमा तीन महिनाभित्र संशोधन गर्ने व्यवस्था निर्देशिकाले गरेको छ । अर्थ मन्त्रालयले तयार पारेको नीतिमा सरकारी खर्चलाई मितव्ययी बनाउने सम्बन्धमा झण्डै तीन दर्जन बुँदा समेटिएको एक अधिकारीले जानकारी दिए । अर्थमन्त्री युवराज खतिवडाले आफ्नो पदबहालीसँगै सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन मितव्ययीता नीति ल्याउने बताएका थिए ।