सबैका प्रिय ‘हरि गुरु’ अस्ताए सधैलाई

1655
प्रदेश सांसद, स्व हरिशरण लामिछानेको फाइल तस्विर

बैशाख ३१,
भक्तपुर । मस्तिष्काघातका कारण भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) प्रदेशसभा सदस्य एवं नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षीय हरिशरण लामिछानेको निधन भएको छ । उहाँको आज साँझ अन्त्येष्टि गरिएको छ ।
लामिछानेको पार्थिव शरीरमा उहाँका छोरा कृष्णशरणले दागबत्ती दिनुभयो । लामिछानेप्रति नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
गत मंसिर २१ गतेको प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट एमालेका तर्फबाट निर्वाचित लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिएको छ । एक साता लामो रारा भ्रमण सकेर शनिबार साँझ घर आइपुग्नुभएका उहाँलाई आइतबार टाउको दुखेपछि काठमाडाँै मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उहाँको आज अपराह्न निधन भएको हो । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६ नगरकोट तेलकोटमा पिता हरिप्रसाद र आमा देवमायाका कोखबाट जन्मनुभएका उहाँले २०३९ सालमा तत्कालीन नेकपा९माले०को भ्रातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । विसं २०४६ को आन्दोलनका क्रममा घाइते हुनुभएका उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो । राजनीतिमा एक आदर्श व्यक्तिका रुपमा परिचित उहाँलाई भक्तपुरमा एमालेले मात्रै नभई अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि एक आदर्श व्यक्तिको रुपमा मान्दै आदरका साथ ‘हरि गुरु’ भनेरै सम्बोधन गर्थे । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् ।