झापामा ट्राफिक नियम उल्लंघन गर्नेलाई फूल र चकलेट

242

जेठ ३ ,
झापा । विद्यालय जान घरबाट हिँडेका विद्यार्थी बिहीबार बिहान १०ः३० बजे बिर्तामोडको मुक्तिचोकमा ट्राफिक प्रहरीलाई सघाउँदै थिए । ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले धमाधम रोके । ती सवारीका चालकलाई विद्यार्थीले सडकमै ट्राफिक नियम सिकाए । र, हातमा चकलेट अनि फूल दिएर बिदा गरे । यो दृश्य सबैले रमाइलो मानेर हेरिरहेका थिए । बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको एमिटी पब्लिक स्कूलका एक सय १० जना विद्यार्थीले डेढ घण्टासम्म सडकमा उभिएर ट्राफिक सचेतना प्रदान गरे ।

कक्षा ६ र ७ का यी विद्यार्थीले आफ्नो २ पिरियड पढाई छाडेर ट्राफिक सचेतना प्रदान गरेका हुन् । हातमा फूल र चकलेट बोकेर सडक किनारमा उभिएका कलिला विद्यार्थीले पैदलयात्रीहरुलाई जेब्रा क्रसमार्फत बाटो काट्न मात्र सिकाएनन् । सवारी चालकलाई पनि ट्राफिक नियम उल्लंघन नगर्न आग्रह गरे । हेल्मेटको फिता नलगाएका, हेल्मेट नै नलगाएका, बढी यात्रु बोकेका सवारी साधन कारबाहीमा परेनन्, विद्यार्थीबाट ट्राफिक सचेतनाका साथमा फूल र चकलेट पाए । ‘विद्यार्थीलाई नयाँ कुरा सिकाउँ भनेर यसो गरिएको हो,’ विद्यालयका प्रिन्सिपल सिताराम ढकालले भने, ‘उनीहरुले पनि ट्राफिक नियम सिक्न पाए, अरुलाई सिकाउन पनि पाए ।’ यो कार्यक्रम तीन दिनसम्म सञ्चालन गरिने शिक्षक अभिभावक संघका सह–संयोजक गौरीशंकर गुप्ताले बताए । विद्यालयले अब अन्य कक्षाका विद्यार्थीलाई पनि यो कार्य सिकाउनेछ । -ईनयाँपत्रिका