बर्डफ्लु संकटग्रस्त क्षेत्रमा मानव स्वास्थ्यबारे अनुगमन

199

जेठ ६,
चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको चितवनको खैरहनी क्षेत्रमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यको अवस्था बारे अनुगमन थालेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सुर्तनामा महाशाखाका डा। हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको विज्ञ टोलीले त्यहाँका स्थानिय वासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा अनुगमन थालेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार शनिवार जिल्ला आईपुगेको टोलीले आज बिहानबाट रगतको नमुना समेत लिन सुरु गरेको छ। मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण नदेखिएको भन्दै उनले सर्न सक्ने भन्दै उच्च सतर्कताका लागि आग्रह गरिएको बताए। बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्न सक्ने हुन्छ। प्राविधिक टोलीले पंक्षि र पंक्षिजन्य पदार्थ नष्ट के कसरी गरेको छ सो को जानकारी पनि लिएको झाले बताए। जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा। चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर काम गरिरहेको छ। सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु संक्रमण प्रमाणित भएको थियो।