लेक लागेर तीन जनाको मृत्यु

569

जेठ ६,
काठमाडौं । मुक्तिनाथ दर्शनका लागि मुस्ताङको मुक्तिनाथ पुगेका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।
आइतबार मुक्तिनाथ दर्शन गर्न जोमसोमबाट त्यसतर्फ जाँदै गर्दा भारतीय नागरिक ४५ वर्षीय श्रीवाचनको मृत्यु भएको हो । भारतको आन्ध्र प्रदेश एवी गुन्टुक घर भएका श्रीवाचन लेक लागेर बाटैमा ढलेपछि उपचारका क्रममा जोमसोम जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । मृतकको शव आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । यसै गरि सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ मा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका– १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आज मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी तेन्जीङ हिलारी विमानस्थल लुक्ला पु¥याई आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच महाकुलुङ गाउँपालिका– १ कोठेमा अर्का एक जनाको लेक लागेर ज्यान गएको छ । इटहरी उपमहानगरपालिका–२ का ३८ वर्षीय डिल्लीप्रसाद पौडेलको लेक लागेर ज्यान गएको हो । बिरामीलाई उद्धार गर्न आएको हेलिकप्टर मौसम प्रतिकूलताका कारण अवतरण हुन नसक्दा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।