विद्युत सर्ट हुँदा आठ घर जले

255

जेठ ७,
भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिका–४ स्थित पक्लीभिट्टामा आगलागी हुँदा आठ घरमा पूर्ण क्षति भएको छ। शाह आलमको घरबाट आइतबार राति ११ बजे विद्युत् सर्ट भई सल्किएको आगोले छेउछाउका आठ वटामा पूर्ण र पाँच वटा घरमा आंशिक क्षति भएको प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक उदय सम्सेर जबराले जानकारी दिए। ‘राति आगो लागेकाले धेरै क्षति भएको छ,’ उनले भने, ‘प्रारम्भिक विवरण अनुसार करिब १० लाख रुपैयाँको क्षति भएको अनुमान छ ।’ आगलागीबाट आश्विन आलम मियाँ, जाबुल मियाँ, यारुव मियाँ, जमशेद मियाँ, जैनाल मियाँ, शाह आलम, श्रीमिल मियाँ र प्याक्रिस मियाँको घर जलेको छ। आगलागीबाट तीन वटा चौपाया समेत मरेका छन्। पीडितहरूको राहत व्यवस्थापनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि भद्रपुर नगरपालिकाका वारुणयन्त्र बोलाएपनि नआएको स्थानीयको गुनासो छ।