नीति तथा कार्यक्रम सार्वजनिकः विगतको जस्तै भएको काँग्रेसको दाबी

209
photo-RSS Nepal

जेठ ७,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको बाम सरकारले आफ्नो नीति तथा कार्यक्रम सोमबार संसदमा सार्वजनिक गरेको छ । सरकारले आगामी दिनहरुमा गर्ने गतिविधिको घोषणा नै निति तथा कार्यक्रम हो । सरकारको यो वर्षको नीति तथा कार्यक्रममा देशको कायापलट गर्ने खालको हुने योजना ल्याएको प्रधानमन्त्री केपी शर्मा ओली भनाई छ । अबको बजेटमा अर्थतन्त्रको संरचनामा परिवर्तन ल्याउने गरी आफ्ना बजेटहरु विनियोजन गर्ने भनिएको छ । आगामी आर्थिक वर्षलाई सरकारले समृद्धिको इतिहास रच्ने आधार वर्षको रुपमा लिएको छ । शिक्षा, स्वास्थ्य खानेपानी र सरसफाइमा लगानी बृद्धि गर्ने, पाँच वर्षमा देशभित्रै रोजगार सृजना गर्ने आश्वासन पनि सरकार दिएको छ । सरकारको नीति तथा कार्यक्रमले देशभित्रै रोजगार सृजना गर्न प्रधानमन्त्री रोजगार कोषको घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बृद्धिदर दोहोरो अंक नजिक र ५ वर्षभित्र आर्थिक बृद्धिदर दोहोरो अंकको बनाउने सरकारले भनेको छ । सम्पूर्ण आय असमानता कम गर्दै लगिने, कृषि उर्जा, उद्योग यातायता सुचना प्रविधी र शहरी विकासलाई आर्थिक बृद्धिको संवाहकको रुपमा सरकारले पहिचान गरेको छ । पछिल्लो समय अयात उच्च बृद्धि भएर व्यापार घाटा बढ्न थालेपछि सरकारले निर्यातलाई बृद्धि गर्ने नीति लिएको छ । जसका लागि कृषि व्यावसायीकरणका लागि जोड दिइने भनिएको छ । उत्पादकत्वमा बृद्धि गरेर निर्यात बढाउने सरकारको लक्ष्य छ । सरकारी खर्चलाई नतिजाउन्मुख बनाइने, तयारी नभएको आयोजनामा बजेट नदिने, वित्तिय अनुसाशनमा कडाइ गरिने, पुँजी बजारको विस्तार गरी आन्तरिक लगानीको पँुजीलाई गतिशील बनाइने भनिएको छ । वित्तिय क्षेत्रको नियामको अवस्था सुधारिने, प्रत्येक नेपालीको बैंक खाता खोलिने, सबै प्रकारको भुक्तानी बैंक मार्फत नै गरिने व्यवस्था गरिने सरकारको नीति छ ।

कृषिको उत्पादन दोब्बर बनाउन कृषिलाई आधृनिकीकरण र व्यावसायिकरण गरिने, सहकारी र सामुहिक खेतीलाई प्रोत्साहन गरिने, उच्च मूल्यका कृषि उपजको निर्यात गर्ने नीति उपयोग गरिने, निर्यात योग्य खेतीलाई प्रोत्साहन गरिने, कषि बिमाको विस्तार गरिने, प्राविधिक ज्ञानका लागि कृषि ज्ञान केन्द्रको स्थापना, मुख्य शहरहरुलाई हरित शहरको रुपमा विकास गरिने सरकारको नीति छ । यस्तै ५ वर्षमा अहिलेको प्रतिव्यक्ति आम्दानीलाई दोब्बर बनाउने, रोजगारी सृजना गर्ने, उच्च आर्थिक बृद्धिद्धर सहितको समृद्ध अर्थतन्त्र बनाउने सरकारको नीति छ । विकास निर्माण लगायत विविधि पक्षमा अनुसान्धान गरि सरकारलाई सुझाव दिन थिंक ट्याङ्कको व्यवस्था गरिने, अबको योजना पूर्ण हुने, संस्थाहरुको कार्यप्रगति र आवश्यक अनुसार स्थानान्तरण खारेजी वा पुर्न्निर्माण गरिने पनि सरकारको नीति छ ।
पूर्वाधार विकासमा सार्वजनिक साझेदारीको नीति अवलम्बन गरिनेछ । सबै स्थानीय तहमा सूचना महामार्ग स्थापना गरिने, विद्युतीय सूचना प्रविधिलाई जोड दिने, सबै नेपालीलाई पृथक नम्बरसहितको परिचय पत्र पुर्याउने यो सरकारको नीति छ । एक वर्षभित्र निजी आवास पुर्न्निर्माण सकिने, तीनै तहमा भवन निर्माणसंहिता लागु गर्ने, एकीकरण पूर्वाधार विकास कार्यक्रम लागु गर्ने, शहर र गाउँबीचको अन्तर कम गर्दै लगिने नीति सरकारले लिएको छ । यता प्रमुख प्रतिपक्ष दल काँग्रेसले पहिलो संघीय सरकारकारका तर्फबाट आगामी आर्थिक वर्षका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कुनै नयाँ विषयबस्तु नपरेको टिप्पणी गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले सरकारको नीति तथा कार्यक्रमले यसअघिको अर्थमन्त्रीले प्रस्तुत गरेको स्वेतपत्रलाई खण्डित गरेको बताए ।

उनले दोहोरो अंकको आथिृक बृद्धि दरका सवालमा यसअघिको सरकारले राष्ट्रको ढुकुटी रित्तो बनाएको भन्ने आरोप असत्यभएको पुष्टि भएको बताए । राष्ट्रको ढुकुटी रित्तो पारेको भए दोहोरो अंकमा आर्थिक बृद्धि दर सम्भव छैन यदि दुई महिनामै ढुकुटी भरिदैन’ प्रवक्ता शर्माले भने‘ अर्थनीतिका सवालमा पनि काँग्रेसले लिएको अर्थनीति भन्दा कुनै नयाँ कुरा समेटिएको देखिदैन ।’ त्यस्तै सरकारले झापादेखि डडेलधुरा राजमार्ग भनेर पुरानै ‘चुरेमार्ग’ नयाँ नाम राखेको पनि बताएको छ । ‘चुरेमार्ग पहिलेकै योजना हो यो नाममात्र परिवर्तन भयो त्यसैले सरकार र सत्तारुढ दलले ढुला र आकर्षक कुरा गरेपनि काम भने पुरानै शैली र तरिकाबाट भएको कांग्रेसको आरोप लगाएको छ ।