लघुकथाः भूपू प्रेमिका

210

जेठ ८,
प्रेमिकाले धोका दिएपछि अरब भासिएको विशाल तीन वर्ष कठोर परिश्रमपश्चात स्वदेश फर्कन्छ । बुबा आमाले छोराको बिहे गर्दिउँ भनेर सुशील कन्या देखाउँछन् । आफ्नो प्रेम कहानी र तड्पाईंको पीडा भुल्न नसकेको ऊ, उनको मुहार हेरेपछि भने शरीरमा अनौठो बिजुली सञ्चार हुन्छ । खुसीले निभेको मनको बत्ती पनि बल्छ । अनेक तर्कना र कल्पनामा सुखी संसारको रेखा कोर्छ । खुसीको उन्मादमा पूर्वप्रेमिकालाई उसले मुहारपुस्तिका मार्फत सन्देश पठाउँछ । ऊ गएदेखि, पश्चातापको आगोमा जलेको र आफ्नो गल्ती सुधार्न मठ मन्दिर धाउने गरेको उन्ले बताउँछिन् । सक्छौँ भने माफ गर भनी विन्ति भाउ दर्साउँछिन् । ऊ दोधारमा पर्छ । पूर्वप्रेमिका वा नव आगन्तुक, कसलाई छान्ने ? केटी बिहे गर्न राजी छे, भन बाबु हाम्रो तर्फबाट पनि हुन्छ भनिदिउँ अन्तरद्वन्द्व, विचारको ज्वारभाटा र घम्साघम्सी बीच नचिनेको भन्दा चिनेको, मन परेको रोज्नु राम्रो ठान्यो उसले । केटाको प्रेमिका भेटियो रे, अन्तै कुरा चलाउन भन्दिनु बुबा, लमीलाई । लमी भने ढोका बाहिर सबै सुनिरहेको थियो । पश्चातापमा लमीले सबै वृत्तान्त केटी पक्षलाई सुनाउँछन् । रस्मी र बुबा आमा मेरो खुसीका लागि राजी हुनु भयो । अब हामी बिहे गर्नुपर्छ, भोलि बिहानै पुरानो गणेश मन्दिरमा सधैंझैँ हामी भेटौँ न ल । भनेर सन्देश पठायो । पिठ्युँमा दुई वर्षको छोरो र पेटमा पाँच महिनाको गर्वको बच्चा देखाउँदै, लोग्नेले सधैं जाँड धोकेर पिट्ने गरेको दुखेसो उनले रुँदै सुनाइन् । भन, के तिमी यी बच्चा र मलाई स्वीकार्न सक्छौ ? सक्छौ भने त्यो जाँडलाई छोडिदिन्छु । ऊ अकमक्क पर्छ । केही बोल्न नसकी ऊ त्यहाँबाट हिँड्छ ।असमझमा परेको ऊ के गर्ने के नगर्ने दोधारमा पर्छ । हेर्न गएको केटीको निर्दोष अनुहार सम्झन्छ । पछुतो लाग्छ, छटपटी हुन्छ । छोराको मलिन अनुहार देखेर चिन्तित हुँदै सोध्छन् । के भयो बाबु, सन्चो भएन ? पश्चाताप र ग्लानिमा उसले भन्छ, मलाई फेरि अरब जानुपर्ने भयो ।