जेठ महिनाभरि गोसाइकुण्डमा मेला

280

जेठ ९,
रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् । पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ । यही जेठ २ गतेबाट गंगा दशहारा पर्व शुरु भएता पनि फाटफुट मात्र भक्तजन गोसाइँकुण्ड गइरहेको र पुरुषोत्तम महिना परेका कारण बढ्नसक्ने यात्रुको चापलाई मध्यनजर राखी सुरक्षा गस्ती बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार रसुवा पुग्ने यात्रु वा जोसुकै व्यक्तिले पनि आफू सुरक्षित भएको महसुस गरी घुमफिर र तीर्थयात्रा गर्नसक्ने गरी सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।
गंगा दशहराको शुभारम्भदेखि नै दैनिकरुपमा १५ देखि २० जना भक्तजन ओहोरदोहोर भइरहेको र बढ्न सक्ने यात्रुको चापलाई मध्यनजर राखी धार्मिक मार्गका सबै होटल व्यवसायीले यथेष्टरुपमा खाद्यान्न भण्डार गरिसकेको चन्दनबारीका होटल व्यवसायीले बताएका छन् ।