युवा पुस्ता विदेशमा, बुबा–आमा फाटँमा

343

जेठ १५,
भक्तपुर ।  जेठ महिनाको मध्य घाममा मानिसहरु शितल खोज्दै छहारी तिर लाग्छन । तर एक हुल किसान भने पसिना पुछदैं हरियो सागबारी वरपर काम गरिरहेका छन् । तेही हुलमा छन् दुई दम्पति किसान । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का ५४ वर्षिय राजकुमार श्रेष्ठ उनकी ५२ वर्षकी श्रीमती अष्टलक्ष्मी श्रेष्ठ धमाधम धानको बिउ राख्न ब्याड तयार बनाउदैं थिए ।

अलि पर अर्का किसान ६० वर्षका चन्द्रकृष्ण र ५५ वर्षकी हरलक्ष्मी रायोको बाकीँ रहेको डाठ उखेलेर बसेका थिए । छेउवै ब्याड राख्न खेत खन्दै थिइन् भक्तपुर नगरपालिका वडा नम्बर ४ मंगलाछेकी ५० वर्षकी कृष्णेश्वरी कर्मार्चाय ।
नेपालका युवा पुस्ताले कृषि पेशालाई अंगालेर देश र आफुलाई आत्मनिर्भरको बाटोमा लानुको साटो बैदेशिक रोजगारी रोज्ने गरेका छन् ।

हामी भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित हनुमान्ते नदी किनारामा रहेको यी किसानका खेतमा पुग्दा दिनको मध्य १२ बजिरहेको थियो । संगसगै खेत रहेका राजकुमार र चन्द्रकृष्ण असारमा रोपाई गर्न धानको बिउ राख्ने तयारीमा जुटिरहेका हुन् । खन्ने र ब्याड सम्माउने काम धमाधम भइरहेको थियो ।
पानी प¥यो भने आज काम नै हुदैंन, त्यसैले चर्को घाम पनि हुदाँहुदैं काम गर्नुको विकल्प छैन, राजकुमारले हामीसंग कुरा गर्दै भने । २ छोरी र १ छोराका मातापिता समेत रहेका अष्टलक्ष्मी र राजकुमार दम्पतिले कृषि पेशा अंगालेको दशकौं भयो ।

थाहा पाउँदा म १० वर्ष जतिको थिए, अहिलेसम्म यहिँ माटोमा हातगोडा खिआइरहेको छु, कति भो आफैं हिसाब गर्नुहोस्, राजकुमारले भने । उनको यो कुरालाई आधार मान्ने हो भने करिब चार दशक उनले निरन्तर कृषि पेशामा जिवन बिताइसकेका छन् । खेतीपाती किसानी पेशलाई उनका छोराले बुहारीले पनि साथ दिएको उनको भनाई छ । उनी कुरा गर्दै कादाली चलाइरहेका थिए । श्रीमती अष्टलक्ष्मी नजिकै रहेको सानो रुखको छहारी तिर लागिन् ।
हिउँदको समयमा तरकारी रोप्ने र असार लागेपछि धान खेती लगाउने गरेको किसानको भनाई छ । तरकारी खेती लगाउदाँ करिब दुई महिना देखि नै आम्दानी हुन्छ । अन्न बाली लगाउदाँ तीन महिना भन्दा धेरै समय कुर्नु पर्ने चन्द्रकष्णले बताए ।

यहाँ विषेश त किसान रायो, तोरी, चम्सुर, पालुंगो, धनिँया, लसुन, गाजँर, फर्सी जस्ता तरकारी रोप्ने गरेका छन् ।
उत्पादन जति भएपनि बजारको समस्या छैन् । कहिलेकाहीँ आफैँले बजार बिक्रि गर्ने गरेपनि धेरैजसो ठेकेदारलाई दिने गरेको चन्द्रकष्णले बताए ।

‘हामी एक मुठाको ५ रुपैयाँमा बेच्छौ, तर तेही साग व्यापारीसंग उपभोग गर्ने मानिसले १५देखि २० रुपैयाँ किन्नु पर्ने बाध्यता छ, यसको अन्त्य हुन जरुरी पर्दछ, चन्द्रकष्णले भने ।’
उनी भन्छन् ‘काम गर्ने समयमा मानिस कोही हुदैंन कहिले काही त पाहाड र मधेसका मानिस फाइन्छ तर हाम्रो माटोमा कोदाली चलाउनै सक्दैन् के गर्नु, यताको कालोमाटो कसिलो हुन्छ, ।

सबैले सुख खोज्दै शहर आउदाँ शहर तर भरियो तर मानिसको रहर भरिएन, त्यसैले बिदेश लागे अनी काम गर्ने मानिस फाइदैंन एक्लैले गरेर कहिले सक्नु र खेतीको काम किसानहरुको गुनासो छ ।
भक्तपुरका धेरै जसो किसानले खेतको नजिकै सानो छाप्रो बनाएका हुन्छन् । उनीहरु घाम र पानीबाट जोगिन त्यो छाप्रो प्रयोग गर्दछन् । तर आज सबै जना खेतमा नै व्यस्त थिए । त्यसैले छाप्रो खाली थियो ।

किसानका समस्या
भक्तपुरमा तरकारी वा अन्य खेती गर्न चाहाने किसानको मुख्य समस्या जग्गा रहेको छ । भक्तपुर, मध्यपुर र सूर्यविनायक नगरपालिकामा खेती योग्य जमिन घर निर्माण भइसकेका छन् । तीन नगरपालिकाको तुलनामा चाँगुनारायण नगरपालिकामा भने केही भूभाग बाकीँ रहेपनि हाल मनलाग्दो जग्गा खण्डिकरण बढेको छ ।
कतिपय स्थानमा सिचाईको सुविधा नै छैन् ।

जसबाट धानखेती गर्न आकाशे पानीको भर पर्नु पर्दछ । खोलाबाट पानी तानेर रोपाई गर्नु परेमा किसानको लागत बढ्न जान्छ । आवश्यक जनशिक्त नपाउनु, मल, बिउ विजन समयमा उपलब्ध नहुनु ।
बिचौलियाको चलखेलले गर्दा किसानले उत्पादन गरेका कृषि उपजले उचित मुल्य पाउनु नसक्नु लगायतका धेरै समस्या छन् । राज्यले किसान र कृषिमुखी बजेट बनाएपनि त्यसको कार्यान्वय हुन सकिरहेको छैन् । त्यसतर्फ ध्यान दिन जरुरी छ । तब मात्र कृषि जन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन्छ ।