कविताः श्वेत राजकुमारी

262

-सुशिला पौडेल

मेरो कल्पनाको क्यानभासमा
बर्सौदेखि कोर्दै आएको मेरो
स्वप्न राजकुमारको तस्बिर
खै कुनबेला मन एकोहोरिएछ
रंग खेलाउँदा खेलाउँदै
कूची चलाउँदा चलाउँदै ।

ऊ ऊ जस्तै छ
ऊ कुनै हिमाल होइन
कुनै लेकसङ्ग नमिल्ने
कुनै बेसीले नछोएको
भौगोलिकता र भौतिकताबाट पर
न ऊ सागर हो न ऊ कुनै क्षितिज नै
न ऊ देउराली हो न कुनै देव नै
उसैको ओठको अलिकति मुस्कान चोरेर हाँस्छ
मेरै आँखा छलेर मैले नै बनाइदिएका ओठहरुले ।

म नियाली रहेछु मेरै क्यानभासमा
मलाई यस्तो लाग्छ ऊ त्यहाँबाट बाहिर आओस्
एक अञ्जुली मेरो रहरसङ्गै रमाओस
जिस्क्याओस घुर्की लगाओस सताओस
मेरो राताम्मे लाली भरिएको यौवनसङ्ग
मस्त मस्त भै रमाओस
मन एकाएक लालायित हुन्छ
आँखा उसै उन्मुक्त हुन्छन्
अहो१यो पराजयभित्रको विजय उत्सव मनाउन ।

सपना झैँ लाग्दै थियो
कल्पना साकार हुँदै थियो
क्यानभासबाट मेरो राजकुमार
मेरै अगाडि मूर्त भएर उभिदै थियो
म अर्ध बेहोसी अवस्थामा पुग्छु खुसीले
अहो१कस्तो स्वप्निल पल ,कति भाग्यमानी म
ऊ मूर्त भित्र पनि अमूर्त देखियो
मेरो हिर्दयमा मच्चिएको आनन्द
म उसकको अनुहारमा पढ्दै थिए
आँखामा खोज्दै थिएँ
सायद ऊ पनि कुर्दै थियो होला मैले जस्तै
उसैकी आँखामा उनिएकी उसैकी कोही
स्वप्न श्वेत राजकुमारीलाई ।।
                                                कपन, काठमाडौं ।