पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

125

जेठ २३,
कास्की । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि दैनिक एक हजारदेखि एक हजार २०० को हाराहारीमा भारतीय दर्शनार्थी आउने क्रम जारी छ । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रमणसँगै पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ,” पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले भन्नुभयो । भारतीय पर्यटक मुक्तिनाथको दर्शन र हिमाली भू–भागको अवलोकन गर्न आउने गरेका छन् ।

भ्रमणका लागि नेपाल सरकारको सवारी पास अनुमति लिएर भारतीय पर्यटक आउने गरेका छन् । यतिखेर भारतका उत्तरप्रदेश, बिहार, सिक्किम, उत्तराखण्डलगायत स्थानका पर्यटक पोखरा घुम्न आएका छन् । पोखरा आउने भारतीय पर्यटक पोखरालाई आधार बनाइ उडानका माध्यमबाट जोमसोम विमानस्थल हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कतिपय पर्यटक सडक मार्ग प्रयोग गरी उक्त स्थानमा जाने गरेका छन् । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बढिरहेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।