चाँगुनारायणमा व्यवसायी भरेनन् ‘पर्यटन शुल्क’ सम्बन्धी ठेक्का

355

जेठ २५,
भक्तपुर । चाँगुनारायण नगरपालिका गत आर्थिक वर्ष देखि सुरु गरेको नगरकोट जाने पर्यटकसंग लिइने शुल्क सम्बन्धी ठेक्का निजि फर्महरुले बहिष्कार गरेका छन् । आगामी आर्थिक वर्ष २०७५/०७६को लागि आवहन गरेको पर्यटन शुल्क सम्बन्धी ठेक्कामा कोही पनि व्यवसायी सामेल भएनन् । विहिवार टेन्डर भर्नु पर्ने भएपनि ५ हजार शुल्क तिरेर फारम किनेका व्यवसायीहरु शुल्क अत्यधिक वृद्धि भएकाले बहिष्कार गरेको नयाँ नेपाल न्युजलाई बताए ।

अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपैयाँमा दिएको ठेक्का यो वर्ष भ्याट सहित ३ करोड ३९ लाख भएपछि बाध्य भएर बहिष्कार गरेका हौं, नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायी भने ।
व्यवयासीहरुले नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद ऐनको पालन नगरपालिकाले नगरेको आरोप लगाएका छन् ।
भक्तपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन बजगाईले नगरपालिकाले ठेक्का प्रक्रिया गर्दा नगरलाई मात्र सोचेको तर कर्मचारी व्यवस्थानपन र व्यवसायीको लगानीको बारेमा नसोचेकाले कसैले टेन्डर नभरेको जानकारी दिए ।

यसबारेमा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरकोट जाने पर्यटकहरुबाट त्यति रकम उठ्छ भन्ने भएकालेनै ठेक्का आवहन गरिएको बताए । मिश्रले भने ‘व्यवसायी एक भएर नगरपालिकाको निर्णयलाई असफल बनाउने प्रयास गरे । ’
उनले अब नयाँ सुचना प्रकाशित गरिने र त्यसमा पनि कोही नआए नगरपालिकाले आफैं पर्यटन शुल्क उठाउने बताए ।
विहिबारको ठेक्काको लागि १७ व्यवसायी फर्मले फारम किनेपनि ठेक्का पक्रियामा सामेल भएनन् ।