विदेशी पुरुषसँग यौन सम्बन्ध नराख्न सासंदको चेतावनी

181

असार २,
काठमाडौं । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसकी एक वरिष्ठ सासंदले विदेशी खेलाडीसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई चेतावनी दिएकी छिन् । रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख तामरा प्लेतन्योभाले एक रेडियोसँग अन्तर्वार्ताको क्रममा यस्तो चेतावनी दिएकी हुन् । रुसका महिलाहरुले विश्वकपको समयमा आएका विदेशी अश्वेत पुरुषसँग सेक्स गरेर अरु मिश्रति जातीका सन्तान जन्माउन सक्ने भएकाले त्यस्तो नगर्न उनले भनेकी हुन् ।

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले विदेशी खेलाडीसँग यौन सम्बन्ध राख्न नहुने बताइन् । ‘सुखी परिवार, सँगै बस्न, बच्चाहरु जन्माउन र राम्रो शिक्षा दिनको लागि पनि रुसका नागरिकले एकअर्कालाई बिहे गर्नुपर्छ’ उनले भनिन् । उनले विश्वकप पछि एकल आमाहरुको सङ्ख्या बढ्ने चिन्ता पनि व्यक्त गरिन् । यसरी विदेशी पुरुष र रुसी महिलाबाट जन्मने यस्ता बच्चाहरुले पछि दुःख पाउन सक्ने तर्फ पनि उनले संकेत गरिन् । रुसमा विश्वकप आयोजनाका विषयलाई लिएर विभिन्न सामाजिक समस्याबारे कुराकानी भइरहेको छ । यस्तोमा रुसी महिलाका विषयमा यसअघि पनि प्रश्नहरु उठिरहेका थिए ।