अब त्रिविका केही क्याम्पसमा अनलाइन परीक्षा फाराम

242

असार ३,
काठमाडौँ । यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, खाद्य प्रविधि क्याम्पस धरान, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवल र कैलाली बहुमुखी क्याम्पस कैलालीका स्नातक प्रथम वर्षका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराइने छ ।

पनिकाले ती क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका लागि आउँदो शुक्रबार तालीम दिनेछ । त्रिविले क्रमशः अन्य क्याम्पसमा पनि अनलाइनबाट परीक्षा फारम भराउने व्यवस्था मिलाउने छ । अब चाँडै स्नातक तह प्रथम वर्षको नै परीक्षा फाराम खोल्ने तयारी त्रिविको छ । यसैगरी त्रिविले यसै वर्षदेखि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीलाई पनि अनलाइनबाट फाराम भराउने छ । अहिले विद्यार्थीले त्रिवि पनिकामा आएर फाराम भर्ने गरेका छन् । त्रिविले गत जेठ दोस्रो हप्तादेखि एकै दिनमा ट्रान्सक्रिप्ट पनि दिन थालेको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो ।